
काठमाडौं । काठमाडौंको तीनकुनेमा आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।
दुर्घटना आज बिहान साढे ६ बजे मुनिभैरव अगाडिको सडकखण्डमा भएको हो। दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार नुवाकोटकी नगिना तामाङको ज्यान गएको हो। उनलाई गम्भीर घाइते अवस्थामा ट्रमा सेन्टर पुर्याइएको थियो, तर चिकित्सकहरूले मृत घोषणा गरेका थिए।
मोटरसाइकल चालक रामेछापका पदम थापा मगर दाहिने हातमा घाइते भएका छन्। उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ। यस्तै, काभ्रेका रत्नबहादुर शार्की र दोलखाकी मेनुका बुढाथोकी पनि दुर्घटनामा घाइते भएका छन्। उनीहरूको उपचार कान्तिपुर अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कोटेश्वरबाट बानेश्वरतर्फ जाँदै गरेको बा ३ ख ७०६२ नम्बरको यात्रुबाहक बसले त्यसै दिशातर्फ गइरहेका बा.प्र.०१–०२६ च २९२७ नम्बरको मारुती भ्यान र बा.प्र.०२–०५३ प ३८४७ नम्बरको २२० सिसीको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।