• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

भाटभटेनीबाट मदिरा र सितन चोर्ने युवक ७ वर्षदेखि गर्थे चोरी,गाडी लिएर गएका थिए चोर्न

केहि दिन अगाडी नक्सालस्थित भाटभटेनी सुपरमार्केटमा एक युवकले महँगो मदिरा र ड्राई फ्रुट चोरेको घटना सार्वजनिक भएको थियो ।
चोरी पछी उनलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थाल्यो । अनुसन्धान गर्दै जाँदा उनि त पुराना र नामी चोर रहेको फेला परेको छ । अनुसन्धानका क्रममा उनि भाटभटेनी लुट्न हुन्‍डाई क्रेटा गाडीमा पुगेको खुलेको छ ।
लाखौंको गाडिमा सानसंग भाटभटेनि पुगेका उनले लाखौंकै रक्सी चोरेका थिए ।

नक्सालस्थित वैशाख २० गते ग्रोसरी विभागबाट चोरेको शंका लागेपछि भाटभटेनीका कर्मचारीले प्रहरीलाई जानकारी दिएका थिए। त्यसपछि सिसिटिभी फुटेजमार्फत अनुसन्धान गरी मालिगाउँ प्रहरी वृत्तले दोलखाको बैतेश्वर गाउँपालिका-२ का ३७ वर्षीय बिमल श्रेष्ठलाई पक्राउ गरेको हो।

श्रेष्ठ हाल भक्तपुरको बोडेमा आफ्नी कान्छी पत्नीका साथ बस्दै आएका थिए। उनी केहि समय अगाडी नेपाल आयल निगममा करार सेवामा काम गर्थे र पछिल्ला दिनमा निगमकै एक उच्च अधिकारीको निजी गाडी चलाउँने रहेछन् ।बिमल सोहि गाडी प्रयोग गरी चोरी गर्न गएको कुरा प्रहरीले पुष्टि गरेको छ।

अहिले चोरीमा प्रयोग भएको गाडी प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँ अनुसार श्रेष्ठले ब्लु लेबल, ग्लेण्डफिडिच, ज्याक डेनियल लगायत करिब २ लाख १८ हजार रुपैयाँ बराबरको सामान चोरेका थिए।उनको साथबाट केही मदिरा फेला पारिएको र त्यसैको आधारमा अहिले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

चोरी भएको भोलिपल्ट श्रेष्ठ काममा नजाँदा गाडीधनीले फोन गर्दा उनले दाँत दुखेको भन्दै नआउने बताएका थिए। त्यसै साँझ प्रहरीको टोलीले उनलाई भक्तपुरको बोडेबाट पक्राउ गरेको हो।

श्रेष्ठ पुराना चोर हुन् भन्ने प्रहरी रेकर्डमा उल्लेख छ। काठमाडौँ उपत्यका र बारामा उनीविरुद्ध ८ वटा चोरी मुद्दा दर्ता भइसकेका छन्। २०७५ सालमा बारामा दुई मुद्दा, त्यसपछि २०७६ र २०७९ मा विभिन्न प्रहरी कार्यालयहरूले उनलाई अनुसन्धान गरेका थिए। उनीमाथि बहुविवाह मुद्दा समेत चलेको थियो।

यसअघि पनि उनी भक्तपुरको भाटभटेनीमा चोरीको प्रयास गर्दा समातिएका थिए तर सामान फिर्ता गरेपछि छुटेका थिए। हालको घटनामा उनले लगाएको कपडा र केही सामान प्रहरीले बरामद गरिसकेको छ। चोरेको ३० हजार बराबरको ब्लु लेबल भने भेटिएको छैन। अनुसन्धानमा उनले त्यो बाटोमै खाएर बोतल फ्यालेको बताएका छन्।