• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

प्रधानमन्त्री ओलीको मिर्गौला कसरी फेल भयो ? यस्तो थियो कारण

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौला फेल हुनुको मुख्य कारण निरन्तर पेन किलर सेवन भएको बताएका छन्। काठमाडौंमा आज आयोजित एक कार्यक्रममा उनले क्षयरोग (टिबी) र अल्सरका कारण लगातार पेन किलर खानुपरेको र त्यसैले गर्दा मिर्गौला काम गर्न छाडेको खुलासा गरेका छन्।

उनका अनुसार बलियो खानपान र औषधिको अभावले स्वास्थ्य बिग्रँदै गयो, पेटमा घाउ भएर दुखाइ असह्य हुँदा पेन किलर सेवन गरिरहनुपरेको थियो। उनले भने, “त्यति धेरै पेन किलर खाँदा किड्नी फेल नभए के हुन्छ?” उनले स्पष्ट रूपमा भने, “मेरो किड्नी फेल हुनुको कारण नै पेन किलर हो।”

एमाले अध्यक्ष समेत रहेका ओलीको हालसम्म दुई पटक मिर्गौला प्रत्यारोपण भइसकेको छ। उनले सबैलाई आफ्नो स्वास्थ्य जोगाउन सचेत रहन आग्रह गर्दै, ‘निरोगी नेपाल’ अभियान अन्तर्गत कुष्ठरोग निवारणलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

‘नेपाल कुष्ठरोग सम्मेलन’ को उद्घाटन सत्रमा उनले १० हजार जनसंख्यामा एक जना भन्दा कम कुष्ठरोगी देखिनु प्रगतिशील भए पनि रोग पूर्ण रूपमा उन्मूलन नभएसम्म सन्तुष्टि नहुने बताए।

प्रधानमन्त्री ओलीले पाचन प्रणाली राम्रो होस् भनेर अघिल्ला पुस्ताले आशीर्वाद दिने चलन थियो भन्ने कुरा स्मरण गर्दै खानपान र जीवनशैली सही राखेर धेरै रोगहरूबाट जोगिन सकिने बताए। साथै, संक्रामक रोग लागेमा नियमित उपचार गर्न जनचेतना फैलाउन आग्रह गरे।

पञ्चायतकालको समय सम्झिँदै उनले जेलमा गोलघरमा थुनेर चिसो भुइँमा सुताइँदा त्यसले पनि मिर्गौला फेल हुन सहयोग पुर्‍याएको उल्लेख गरे। उनले कुष्ठरोग पीडितप्रति विभेद हटाउन कानुन संशोधन गरिने र रोग सर्न नदिन सरकारले आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाए।

साथै, “रोग लुकाउनु हुँदैन” भन्ने सन्देश आमसञ्चार र प्रविधिको माध्यमबाट फैलाउन पनि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिए।