• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

जनकपुर क्रिकेट रंगशाला निर्माणमा अवरोध आए आन्दोलन गर्ने चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले जनकपुरमा प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणमा अवरोध भएमा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद झाले रंगशालाका लागि प्रस्तावित १७ विघा जमीनको भाडा एकाएक ९ लाखबाट ४९ लाख ६० हजार रुपैयाँ पुर्‍याइएकोप्रति आपत्ति जनाए। उनले यसमा बिचौलिया र दलालको चलखेल रहेको आशंका व्यक्त गरे।

“जनकपुरधाममा खेलकुद मैदानका लागि आन्दोलनको तयारी गर्दैछौँ,” उनले भने, “लक्ष्मणकुटीको नाममा रहेको १७ विघा जग्गामा साढे दुई अर्ब लागतको अन्तर्राष्ट्रिय रंगशालाको डीपीआर बनिसकेको छ। खेलकुद परिषद्ले गुठी संस्थानलाई वार्षिक ९ लाख भाडा तिर्दै आएको थियो, तर अहिले एक्कासी ४९ लाख ६० हजार पुर्‍याइएको छ।

यसमा पक्कै पनि कुनै समृद्ध बिचौलिया र दलालको भूमिका देखिन्छ।”उनले खेलाडीहरूको सपना चकनाचुर पार्ने प्रयास भएमा सडक आन्दोलन अपरिहार्य हुने चेतावनी पनि दिए।