• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

राजावादीहरूले जेठ १५ देखि अनिश्चितकालीन जनआन्दोलनको घोषणा

काठमाडौं। राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मको पुनःस्थापनाका लागि जनआन्दोलन सुरु गर्ने घोषणा गरिएको छ।

राजसंस्था पुनर्स्थापनाका लागि गठित समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत जेठ १५ देखि अनिश्चितकालीन आन्दोलन थाल्ने जानकारी दिए।

“हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ, भद्र अवज्ञा र सत्याग्रहमा आधारित रहनेछ,” सुवेदीले भने, “यो आन्दोलन व्यवस्था परिवर्तनको हो, कुनै दल वा सरकारविरुद्ध होइन।”

घोषणासभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पञ्चायतकालीन नेता केशरबहादुर विष्टलगायत नेताहरूको उपस्थिति थियो। आयोजक समितिका अनुसार आन्दोलन संविधान संशोधनमार्फत राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाका मागमा केन्द्रित हुनेछ।