पाल्पा र डडेल्धुरामा दुर्घटना, बालकसहित दुईको मृत्यु

काठमाडौं । पाल्पा र डडेल्धुरामा बिहीबार साँझ भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।डडेलधुराको आलिताल गाउँपालिका–८ सुनखोलास्थित सडकमा भिनपा ००१ ह ०१२६ नम्बरको अटोले ठक्कर दिँदा ४ वर्षीय बिबेक विकको मृत्यु भएको हो।

बिबेक सोही गाउँपालिका–४ कैनघाडीका बिक्रम विकका छोरा हुन्। गम्भीर घाइते भएका बिबेकको जोगबुढा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डडेल्धुरा प्रहरीले जनाएको छ। दुर्घटनामा अटोमा सवार एक जना घाइते भएका छन्, जसको सोही अस्पतालमा उपचार भइरहेको छ। अटो चालक भने घटनापछि फरार रहेका छन्, र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्दबाबा ड्यामसाइड नजिकै लु १ क २५१७ नम्बरको टिपर अनियन्त्रित भई दुर्घटना हुँदा चालक २६ वर्षीय प्रभाकर यादवको ज्यान गएको छ। उनी रूपन्देहीको सियारी गाउँपालिका–२ का बासिन्दा हुन्। गम्भीर घाइते भएका यादवको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो।दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१