• २०८३ असार ८
  • 2026 June 22, Monday

सुदूरपश्चिम विवादमा प्रचण्डको पहल, अन्तिम छलफल डडेलधुरामा हुने

  • २०८२ वैशाख २८, आइतबार १०:४२

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुदूरपश्चिम प्रदेश संसदीय दलभित्र देखिएको नेतृत्व विवाद समाधान गर्न सक्रिय छन्। लामो समयदेखि जारी विवादको निकास खोज्दै आइतबार बिहान प्रचण्डले आफ्नो निजी निवास खुमलटारमा सांसद खगराज भट्टसहित चार जना सांसदसँग छलफल गरेका हुन्।

छलफल सकारात्मक भए पनि दलका नेता मानबहादुर धामी अनुपस्थित भएकाले ठोस सहमति जुट्न सकेन। “संसदीय दलको विवाद समाधानका लागि अध्यक्षसँग छलफल भइरहेको छ, केही दिनमा सहमति निस्किने विश्वास छ,” नेता भट्टले जानकारी दिए।

यसअघि पनि पार्टी अध्यक्ष प्रचण्डले दुवै पक्षलाई वैशाख २४ गते छलफलका लागि बोलाएका थिए। तर अन्तिम समयमा छलफल स्थगित भएपछि अधिकांश सांसदहरू गृहजिल्ला फर्किएका थिए। सांसद शिवसिंह ओलीका अनुसार प्रचण्डले अब जेठ १ गते डडेलधुरामा पुनः बैठक राख्ने बताएका छन्। उक्त दिन उनी मध्यपहाडी लोकमार्ग अभियानमा सहभागी हुन त्यहाँ जाँदै छन्।

“आजको छलफलमा चार जना मात्रै उपस्थित थियौँ। अध्यक्षले जेठ १ गते डडेलधुरामा विस्तृत छलफल गर्ने भनेका छन्। प्रक्रिया सकारात्मक देखिएको छ,” ओलीले बताए।खुमलटारको छलफलमा सहभागी अन्य सांसदहरूमा रमेशसिंह धामी र झपटबहादुर साउद थिए।सन् २०८० फागुनमा खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता बनाइएको थियो। पार्टीले चार पटक परिपत्र जारी गरेर धामीको नेतृत्त्वलाई मान्यता दिन निर्देशन दिए पनि कार्यान्वयन हुन सकेको छैन।

  • २०८२ वैशाख २८, आइतबार १०:४२