‘आजका युवा हिम्मत गर्छन्, रिस्क लिन तयार छन्’

काठमाडाैं । नेपाल जस्तो विकासोन्मुख राष्ट्रका लागि दिगो आर्थिक विकासको आधार भनेको स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने उद्यमशीलता हो । कृषि, वैदेशिक रोजगारी र सरकारी जागिरमा केन्द्रित हाम्रो परम्परागत अर्थतन्त्र अहिले बिस्तारै स्टार्टअप संस्कृति र नवप्रवर्तनमूलक व्यवसाय तर्फ मोडिँदैछ ।

पछिल्ला केही वर्षमा नेपालको युवापुस्ता उद्यमशीलताको नयाँ लहरमा सामेल हुँदैछ । यसै सन्दर्भमा, आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामाले डिजिटल मिडिया एलाईन्स नेपालद्वारा आयोजित कार्यक्रममा नेपालमा उद्यमशीलताको वर्तमान अवस्था, चुनौती र सम्भावनाहरूको विश्लेषण प्रस्तुत गरे ।

उद्यमशीलताप्रतिको उत्साह, तर आधारभूत चुनौतीहरू कायम

डा. लामाको भनाइमा, आजका युवाहरूमा उद्यम गर्ने इच्छाशक्ति प्रचुर मात्रामा छ । उनले भने “हामीले कलेजदेखि नै उद्यमशीलताको सुरुवात गरिरहेका छौं, गाउँपालिका स्तरदेखि नै स्टार्टअप सम्बन्धी कार्यक्रम सञ्चालनमा आएकाले एउटा सकारात्मक माहोल तयार भएको छ ।”

“मानसिकता त छ, तर सीप र ज्ञानमा लगानी पुगेको छैन जस्तो लाग्छ,” उनले भने । व्यवसाय सुरु गर्न चाहने धेरै युवाहरू पासमा योजना त राख्छन्, तर त्यसलाई व्यवहारमा उतार्ने प्राविधिक क्षमता, व्यवस्थापन सीप र बजार बुझाइ अभाव देखिन्छ।

सफल उद्यमी बन्न समय, धैर्यता र समर्पण अनिवार्य

“यदि ३ देखि ५ वर्षको कमिटमेन्ट गर्न सकिएन भने त्यो हुँदैन” डा. लामाको यो भनाइ आजका धेरै स्टार्टअप संस्थापकहरूका लागि मार्गनिर्देशन हो ।

उनी नेतृत्व गरिरहेको आइडिया स्टुडियो नेपालले अहिलेसम्म ८ वटा सिजनमार्फत १०७ स्टार्टअपहरूमा लगानी गरिसकेको छ, जसले हजारौंलाई रोजगारी सिर्जना गरेको छ ।

उद्यमशीलता भनेको छिटो नाफा कमाउने योजना होइन, दीर्घकालीन सोच, समय, धैर्यता र प्रयासको परिणाम हो भन्ने सन्देश उनले स्पष्ट रूपमा दिएका छन् ।

स्टार्टअप इकोसिस्टमको आवश्यकता: सोच मात्र होइन, संरचनाको निर्माण

डा. लामाले नेपालमा स्टार्टअपलाई सघाउने सपोर्ट मेकानिजम कमजोर रहेको बताए । “आफ्नो आइडिया कत्तिको प्रष्ट छ भनेर परीक्षण गर्ने ठाउँ चाहिन्छ,” उनले भने । यही कार्यमा आइडिया स्टुडियो जस्ता संस्थाहरू सक्रिय भए पनि राज्य, निजी क्षेत्र र शैक्षिक संस्थाहरूबीच सहकार्य अझै अपरिहार्य देखिन्छ ।

उनको सन्देशमा स्पष्ट छ, “कलेज र विश्वविद्यालयहरू इन्क्युबेशन सेन्टर बन्नुपर्छ । व्यवसाय मुटुले सुरु गर्ने हो, तर त्यसलाई टिकाउन ज्ञान चाहिन्छ ।”

उद्योग र शिक्षा क्षेत्रबीच सहकार्यको खाँचो

नेपालमा उद्योगहरू योग्य जनशक्तिको अभावमा समस्यामा छन् भने शिक्षित युवाहरू बेरोजगार छन् । यस्तो द्विविधा तब मात्रै हट्छ जब विश्वविद्यालयले उद्यमशीलता र उद्योगका आवश्यकतालाई सम्बोधन गर्ने व्यावसायिक शिक्षा र तालिम दिन थाल्छन् । “उद्योगलाई कस्तो जनशक्ति चाहिएको छ, त्यो कुराको राम्रोसँग अनुसन्धान हुनुपर्‍यो” ।

आशावादको आधार : युवा ऊर्जा र सही मार्गनिर्देशन

“नेपालमा केही गर्ने जोश छ। त्यसलाई सही ज्ञान र मार्गदर्शनले सम्हाल्न सकियो भने देशले छिट्टै फड्को मार्न सक्छ।” आजका युवाहरू हिम्मत गर्छन्, रिस्क लिन तयार छन् र नवप्रवर्तनमा विश्वास राख्छन् । यिनै गुणलाई समुचित संस्थागत संरचना र समर्थनद्वारा सुदृढ गरियो भने नेपालको आर्थिक भविष्य उद्यमशीलतामै अडिनेछ।

(–डिजिटल मिडिया अलाइन्स नेपालको कार्यक्रममा प्रस्तुत विचारको सम्पादन)

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१