
काठमाडौं । वसन्त ऋतुको सगरमाथा आरोहण सिजन जारी रहँदा प्रतिकूल मौसमका कारण सगरमाथा, कञ्चनजङ्घा लगायतका हिमालमा आजको लागि सबै आरोहण रोकिएको छ।पर्यटन विभागका अनुसार सगरमाथा क्षेत्रमा तीव्र गतिको हावा चलिरहेका कारण आजको (मे १३) आरोहण स्थगित गरिएको हो।
विभागका निर्देशक हिमाल गौतमले, “सगरमाथामा तीव्र हावाका कारण आरोहण हुन नसकेको जानकारी आएको छ,” भने। आरोहणको तयारीमा रहेका धेरै आरोहीहरू सुरक्षित स्थलतर्फ फर्किइरहेका छन् भने अक्सिजन प्रयाप्त भएका केही आरोही दोस्रो र तेस्रो शिविरमा मौसम अनुकूल हुने पर्खाइमा छन्।सगरमाथा आधार शिविरस्थित पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका प्रतिनिधि पासाङ भोटेले मौसम प्रतिकूलताले मे १५ सम्मका आरोहण योजना रद्द हुने सम्भावना रहेको जानकारी दिए। उनका अनुसार मे १४ मा चुचुरो चढ्ने योजना बनाएका अधिकांश आरोहीहरू आधार शिविर फर्किन थालेका छन्।
“आज र भोलि (मे १३ र १४) चौथो शिविरसम्म पुगेका सबै आरोहीहरू आधार शिविर फर्कने अपेक्षा गरिएको छ,” भोटेले भने।विभागका अनुसार अबको तीनदेखि चार दिनसम्म सगरमाथा आरोहण सम्भव नहुने देखिएको छ। मौसमले साथ दिएमा मे १८ बाट फेरि आरोहण सुरु हुन सक्ने अनुमान गरिएको छ।सगरमाथा आरोहण व्यवस्थापन गरिरहेको एटके एक्सपिडिसन कम्पनीका अनुसार मे ११ देखि १४ सम्म सर्वाधिक संख्यामा आरोही चुचुरोमा पुग्ने अनुमान गरिएको थियो। मे १२/१५ लाई ‘समिट विन्डो’ मानेर तयारी गरिएको थियो, तर मौसम अचानक बिग्रिएको हो।
हालसम्म सगरमाथाको चुचुरोमा डोरी टाँग्ने (रोप फिक्सिङ) टोलीसहित चार समूहले मात्रै सगरमाथा चढेका छन्। मे १० मा दावा फुञ्जो शेर्पा र फुर्साङ शेर्पाले, र मे ११ मा बेलायत, नेपाल तथा इक्वेडरका आरोहीहरूले सफल आरोहण गरेका छन्।यस याममा मकालु हिमालमा पाँच नेपाली, तीन चिनियाँ र एक किर्गिस्तानी आरोहीले सफल आरोहण गरेका छन्।वसन्त सिजनको सगरमाथा आरोहण वैशाख २६ (मे ८) देखि सुरु भएको हो। एटके एक्सपिडिसनका सात सदस्यीय शेर्पा टोलीले सोही दिन साँझ ५ बजे सगरमाथाको चुचुरोमा डोरी टाँगेर आरोहणको ढोका खोलेका थिए। यो सिजनमा २६ वटा हिमालका लागि १,१२७ जना आरोहीले अनुमति लिएका छन्, जसमध्ये सगरमाथाका लागि मात्रै ४५ आरोही समूहका ४५६ जना (८४ महिला र ३७२ पुरुष) सहभागी छन्।