
काठमाडौं। नेपालको प्रतिष्ठित जुत्ता ब्राण्ड गोल्डस्टारकी प्रबन्ध निर्देशक विदुषी राणाले हालै एक प्यानल छलफलमा आफ्नो उद्यमशीलता यात्रा, गोल्डस्टारको वर्तमान अवस्था, भविष्यका योजनाहरू र विशेषगरी महिला सशक्तिकरणमा कम्पनीले खेलेको भूमिकाबारे प्रकाश पारेकी छन् ।
सन् १९७० मा स्थापना भएको गोल्डस्टार नेपालमै सबैभन्दा लामो विरासत बोकेको कम्पनी हो। ५४ वर्ष अगाडी गोल्डस्टारले पहिलो पटक जुत्ता उत्पादन थालेको थियो ।
नेपालको सबैभन्दा ठूलो जुत्ता उद्योग हो । गोल्डस्टारले ३ हजार भन्दा बढी मानिसलाई रोजगारी दिएको छ, जसमध्ये ७० प्रतिशत महिला रहेका छन् । राणाले भनिन् ‘गोल्डस्टारसँग सबैभन्दा ठूलो डिजाइन सेल छ र यो एनएस तथा बीआईएस प्रमाणीकरण प्राप्त गर्ने एकमात्र नेपाली जुत्ता उद्योग हो, जसले यसको निर्यात क्षमतालाई दर्शाउँछ। एउटा जुत्ता बनाउन ७५ देखि ८० वटा विभिन्न पाटपुर्जाहरू चाहिन्छ। नेपाल भूपरिवेष्ठित मुलुक भएकाले धेरैजसो कच्चा पदार्थ आयात गर्नुपर्छ, तैपनि ५० प्रतिशत भन्दा बढी मूल्य अभिवृद्धि नेपालमै हुनु राम्रो कुरा हो।’
‘सुरुवाती दिनहरुमा गोल्डस्टारले टिकाउ र किफायती जुत्तामा ध्यान केन्द्रित गरेको थियो तर विगत १५ वर्षदेखि हामीले नयाँ प्रविधि, डिजाइन सेल र प्रयोगशालामा लगानी गरेर युवा पुस्तालाई लक्षित गरेका छौं ।’ राणाले बताइन। फेशन उद्योग निरन्तर परिवर्तनशील हुने भएकाले गोल्डस्टारले युवाहरूको रुचिअनुसार ३ सय भन्दा बढी डिजाइनका जुत्ताहरू उत्पादन गरिरहेको छ, जसमा स्कुल शुज, चप्पल, ट्रेकिङ शुज, वाकिङ शुज र लेदर शुजहरू समावेश छन्।
गोल्डस्टारले भारतमा ३० वर्षदेखि निर्यात गरिरहेको छ भने हाल अष्ट्रेलिया, क्यानडा, अमेरिका, जापान, मलेसिया, भुटान, कतार र बहराइनजस्ता देशहरूमा नेपाली डायस्पोरा र फ्रेन्चाइजमार्फत आफ्नो बजार विस्तार गरिरहेको छ। ‘हाम्रो लक्ष्य गोल्डस्टारलाई विश्वव्यापी मञ्चमा नेपालको प्रतिनिधित्व गराउनु हो ।’ उनले भनिन् ।
‘अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्दा गोल्डस्टारले विभिन्न चुनौतीहरूको सामना गरिरहेको छ। ‘नेपालमा उत्पादन लागत निकै महँगो छ ।’ राणाले भनिन् । सरकारले निर्यात प्रोत्साहनका लागि बजेटमा ८ प्रतिशत अनुदान दिने भने पनि त्यो अझै कार्यान्वयनमा आएको छैन। कच्चा पदार्थमा लाग्ने कर र बंगलादेशको तुलनामा महँगो बिजुलीले पनि हाम्रो प्रतिस्पर्धात्मक क्षमतामा असर पारेको छ।’ उनले थपिन, ‘नेपालमा २ हजार ५ सय रुपैयाँसम्मका जुत्तामा नेपाली उद्योग आत्मनिर्भर भइसकेको अवस्थामा चोरी पैठारीबाट आउने सस्ता जुत्तासँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ।’
महिला उद्यमीको रूपमा आफ्नो यात्राबारे बोल्दै राणाले भनेकि छन् , ‘व्यक्तिगत रूपमा मैले ठूलो बाह्य चुनौती भोग्नु परेन, तर आन्तरिक द्वन्द्व र आत्मविश्वासको कमी भने थियो। मैले गर्न सक्छु कि सक्दिन, के म बोर्डरूमका लागि योग्य छु भन्ने प्रश्नहरू आउँथे।’ उनले आफ्नो आत्मविश्वास बढाएर, निरन्तर सिकेर र गल्तीबाट पाठ सिक्दै अघि बढेको बताइन् । जसमा परिवार र श्रीमानको ठूलो सहयोग रहेको उनको भनाइ छ ।
गोल्डस्टारमा कार्यरत ३ हजार कामदारमध्ये ७० प्रतिशत महिला छन्, जसमध्ये धेरैजना विपन्न वर्गका छन्। ‘हामी उनीहरूलाई ३ महिनाको सशुल्क सिलाइ तालिम दिन्छौं। तालिमपछि उनीहरूले १७ हजार ५ सय देखि ३० हजार रुपैयाँसम्म कमाउँछन्। यसले उहाँहरूलाई आर्थिक रूपमा सशक्त बनाएको छ र घरपरिवारमा पनि सम्मान बढाएको छ,’ राणाले भनिन्। गोल्डस्टारको ३ सय जना स्टाफमा ५० प्रतिशत र बोर्डमा ७० प्रतिशत महिला रहेको जानकारी दिँदै उनले गोल्डस्टारलाई महिला नेतृत्वको व्यवसाय भन्न रुचाएकी छन् ।
उनले महिलाहरूलाई सामाजिक दबाब र तिमीले गर्न सक्दैनौ भन्ने मानसिकताबाट माथि उठेर आत्मविश्वासका साथ अघि बढ्न आग्रह गरिन। ‘शिक्षा र आर्थिक सशक्तिकरण महिलाहरूको प्रगतिका लागि अपरिहार्य छन् ।’ उनले थपिन्।
विदुषी राणाले गोल्डस्टार र समग्र नेपाली उत्पादनलाई विश्व बजारमा पुर्याउन सरकारी नीतिगत सुधार र प्रोत्साहनको आवश्यकतामा जोड दिएकी छन्।