• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

बजेटमा माग : हिमालको पानी खाडी पठाएर करोडौँ भित्र्याउने योजना ल्याऔँ

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तयारीमा रहेको सरकारलाई निजी क्षेत्रले खाडी मुलुकमा हिमालको पानी निर्यात गर्ने व्यवस्था गर्न आग्रह गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघले ‘खेतदेखि खाडीसम्म’ कार्यक्रम सञ्चालन गरी नेपाली कृषि उत्पादन र पानीको निर्यातलाई प्रोत्साहन गर्न सिफारिस गरेको हो।

महासंघका अनुसार खाडीमा हिमाली पानीको माग उच्च रहेको छ। दैनिक एक दर्जनभन्दा बढी उडान खाडी मुलुकतर्फ हुने भएकाले तिनैमार्फत पानी र कृषि उत्पादन निर्यात गर्न सकिने सम्भावना देखिएको छ। त्यसका लागि त्रिभुवन विमानस्थलमा कोल्ड स्टोरेज, एक्स–रे मेसिन र वेयरहाउसजस्ता पूर्वाधार विकास गर्नुपर्ने सुझाव पनि दिइएको छ।

हाल नेपालबाट तीन प्रकारका पानी—मिनरल वाटर, हिउँ पग्लिएको पानी र चिनी मिश्रित पानी—विभिन्न देशमा निर्यात हुँदै आएको छ। चीन, जापान र हङकङ प्रमुख गन्तव्य बजार हुन्। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिनामा मात्र नेपालले ३७,७३२ लिटर पानीजन्य उत्पादन निर्यात गरेको छ। यसमा सबैभन्दा धेरै निर्यात चिनी मिसिएको पानीको भएको छ, जसमा चीन प्रमुख आयातकर्ता हो।

जापानमा १०,२१५ लिटर हिमाली पानी निर्यात गरिएको छ, जसको मूल्य ११ करोड ५० लाख रुपैयाँ पुगेको छ। यस्तै, रसुवा जिल्लाबाट उत्पादन हुने ‘हिमालयन अनटप’ र ‘नेपाल स्प्रिङ’ ब्रान्डका पानी पनि निर्यात भइरहेका छन्।तर, पानी निर्यातसम्बन्धी स्पष्ट नीति र मापदण्डको अभावले उत्पादकहरूलाई अन्तर्राष्ट्रिय गुणस्तरको प्रमाणपत्र पाउन कठिन भइरहेको छ। अघिल्लो वर्षको बजेटमा पानी निर्यातलाई ब्रान्डिङ गर्दै प्रवर्द्धन गर्ने प्रतिबद्धता गरिएको भए पनि कार्यान्वयनमा जान सकेको छैन।निजी क्षेत्रले सुझाएअनुसार सरकारले आगामी बजेटमा हिमालको पानी निर्यातसम्बन्धी कार्यक्रम ल्याउन सके, विदेशी मुद्रा आर्जनको उल्लेखनीय सम्भावना रहेको महासंघको ठम्याइ छ।