• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

मखनमा ग्याँस विस्फोटपछि आगलागी, एक नाङ्लो व्यापारी महिलाको निधन

३ जनाको उद्धार

काठमाडौं। काठमाडौं महानगरपालिका–२४ स्थित मखन गल्लीमा खाना पकाउने ग्यास पड्किएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बुधवार बिहान ६:५० बजे सुरज आर्केड पछाडि रहेको दयाराम श्रेष्ठको चार तले घरमा आगो लागेको हो।

अगलागीमा परेर चौथो तलामा बस्दै आएकी करिब ६५ वर्षीया एक महिलाको ज्यान गएको छ। उनी नाङ्लोमा सामान बेच्दै आएकी दोलखाको चरिकोट निवासी भएको र स्थानीयहरू उनलाई ‘चरिकोटे बुढी’ भनेर चिन्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए।

प्रारम्भिक अनुमानअनुसार, निसास्सिएर उनको मृत्यु भएको हो।दयाराम श्रेष्ठको घरबाट सुरु भएको आगो छिमेकी रुकेश श्रेष्ठको घरमा पनि फैलिएको थियो। आगो नियन्त्रणका लागि काठमाडौँका एसएसपी विश्व अधिकारी घटनास्थल पुगेका थिए।

प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहकार्यमा ६ वटा दमकलको सहयोगले आगो बिहान सवा ८ बजे नियन्त्रणमा लिइएको हो। घटनास्थलमा प्रहरी वृत्त जनसेवाका डीएसपी कृष्णकुमार चन्दको नेतृत्वमा गएको टोलीले आगलागीमा परेका तीन जनालाई—एक महिला, एक पुरुष र एक बालक—सुरक्षित रूपमा उद्धार गरेको छ।