त्रिविका बीसीए विद्यार्थीमाथि अन्याय: एउटै कोर्समा फरक व्यवहार गरिदा सरकारी अवसरबाट वञ्चित

काठमाडौं, त्रिभुवन विश्वविद्यालय (टीयू) अन्तर्गत सञ्चालित ब्याचलर इन कम्प्युटर एप्लिकेसन्स् (बीसीए) कार्यक्रम अध्ययनरत विद्यार्थीहरूले शैक्षिक वर्गीकरणसम्बन्धी विभेदका कारण सरकारी रोजगारीका अवसरबाट वञ्चित हुनुपरेको भन्दै गम्भीर ध्यानाकर्षण गराएका छन्।
देशभरका विभिन्न क्याम्पसहरूमा अध्ययनरत बीसीए विद्यार्थीहरूले संसदमा संयुक्त ध्यानाकर्षण पत्र बुझाउँदै टीयू अन्तर्गतको बीसीए कार्यक्रमलाई “मानविकी तथा सामाजिक शास्त्र संकाय” मा राखिनु अन्यायपूर्ण भएको बताएका छन्। उनीहरूले पोखरा विश्वविद्यालय (पीयू), काठमाडौँ विश्वविद्यालय (केयू) र पूर्वाञ्चल विश्वविद्यालयले जस्तै बीसीएलाई “विज्ञान तथा प्रविधि संकाय” अन्तर्गत समावेश गरिनुपर्ने माग राखेका छन्।
रत्न राज्य लक्ष्मी क्याम्पसका एक विद्यार्थी विशाल पौडेलले भने, “एउटै कोर्स, समान सिलेबस, समान क्रेडिट आवर (१२६) हुँदाहुँदै पनि टीयू अन्तर्गतको बीसीएलाई सरकारकै विज्ञापनमा अयोग्य करार गरिनु अत्यन्त दुर्भाग्यपूर्ण छ।” उनले यसले हजारौं विद्यार्थीको भविष्यमाथि प्रश्न उठाएको बताए।
यो फरक व्यवहारले विद्यार्थीहरु सरकारी अवसरबाट वञ्चित हुनु परेको उनिहरुले बताएका छन् ।

विद्यार्थीहरूका अनुसार, सरकारले लोक सेवा आयोग तथा अन्य सरकारी निकायमार्फत आह्वान गर्ने सूचना प्रविधि अधिकृत वा सो सरहका पदहरूमा “कम्प्युटर साइन्स/इन्फर्मेसन टेक्नोलोजी वा सो सरहको विषयमा स्नातक” योग्यता तोकेको हुन्छ।

तर, टीयू अन्तर्गतको बीसीए मानविकी संकाय अन्तर्गत वर्गीकृत भएकाले अधिकांश विद्यार्थीहरू यस्ता अवसरहरूमा आवेदन दिनबाटै वञ्चित हुँदै आएका छन्। उनीहरूको भनाइमा यो वर्गीकरण केवल शैक्षिक विभेद मात्र नभएर व्यावसायिक अवसरमा प्रत्यक्ष असर पार्ने खालको अन्याय हो, जसले उनीहरूको वृत्ति विकासमा गम्भीर अवरोध सिर्जना गरेको छ।

बीसीए विद्यार्थीमाथि गरिएको यो विभेदका कारण बिद्यार्थीहरु विदेश पलायन हुने डर बढेको छ ।

पीडित विद्यार्थीहरूले एउटै विषय पढे पनि विश्वविद्यालय वा संकायको नामकै कारण अवसरमा यस्तो ठूलो असमानता सिर्जना गरिनुले हजारौं सक्षम युवाहरू निराश हुँदै विदेश पलायन हुन बाध्य भइरहेका बताएका छन्। “राज्यले आफ्नै नीतिगत कमजोरीले गर्दा दक्ष जनशक्तिलाई देशमै अवसर दिनुको सट्टा विदेशिन प्रेरित गरिरहेको छ,” एक विद्यार्थीले आक्रोश पोखे।
विद्यार्थीहरूका प्रमुख मागहरू:
विद्यार्थीहरूले संसदमार्फत सरकार र विश्वविद्यालय समक्ष निम्न चार बुँदे माग प्रस्तुत गरेका छन्:
-त्रिभुवन विश्वविद्यालय अन्तर्गतको बीसीए कार्यक्रमलाई तत्काल विज्ञान तथा प्रविधि संकाय अन्तर्गत मान्यता दिइयोस्।
-सबै विश्वविद्यालयबाट उही तह र प्रकृतिको बीसीए उपाधि हासिल गरेका स्नातकहरूलाई सरकारी तथा अन्य सबै क्षेत्रमा समान व्यवहार गरियोस्।
-सरकारी विज्ञापनहरूमा संकायको आधारमा नभई अध्ययन गरिएको कोर्सको विषयवस्तु, प्रकृति र संरचनाका आधारमा योग्यताको वस्तुनिष्ठ मूल्याङ्कन गरियोस्।
-सूचना प्रविधि शिक्षा र यससँग सम्बन्धित रोजगारीका अवसरहरूमा देखिएका यस्ता अन्योल र विभेद अन्त्य गर्न समावेशी, स्पष्ट र दीर्घकालीन शैक्षिक नीति अविलम्ब लागू गरियोस्।
विद्यार्थीहरूले आफ्ना मागहरू तत्काल सम्बोधन नगरिए थप आन्दोलनका कार्यक्रमहरू अघि बढाउने चेतावनीसमेत दिएका छन्।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१