• २०८३ असार २७
  • 2026 July 11, Saturday

जेन–जी आन्दोलनमा कलाकारहरूको ऐक्यबद्धता: अनमोल केसी, निश्चल बस्नेत र पल शाहको समर्थन

जेन–जी पुस्ताले सोमबार आयोजना गर्न लागेको आन्दोलनप्रति नेपाली कलाकारहरूले खुलेर समर्थन जनाएका छन्। सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध, अभिव्यक्ति स्वतन्त्रताको हनन र भ्रष्टाचारविरुद्धको आवाजका रूपमा उठाइएको यस आन्दोलनमा अभिनेता अनमोल केसी, निर्देशक निश्चल बस्नेत र अभिनेता पल शाहले ऐक्यबद्धता प्रकट गरेका छन्।

फेसबुकमार्फत अनमोल केसीले सरकारको प्रतिबन्धात्मक कदमको विरोध गर्दै लेखेका छन्, “हामी नेपाली नागरिकहरू चुप लागेर बस्दैनौं। सामाजिक सञ्जाल रोकेर सिर्जनशीलता र स्वतन्त्र अभिव्यक्तिलाई दबाउन खोजियो भने, हामी अझ ठूलो आवाजमा उठ्छौं।” यो उनको पहिलो पटक राजनीतिक तथा सामाजिक विषयमा सार्वजनिक टिप्पणी हो। उनले जेन–जी आन्दोलनको पोस्टरसमेत सेयर गर्दै, “आवाज उठाउने पुस्ता, जेन–जेडको संघर्ष, भोलिको भेला हाम्रो भविष्य” भन्ने सन्देश दिएका छन्।

निर्देशक निश्चल बस्नेतले टिकटक भिडियोमार्फत आफू जेन–जीको साथमा रहेको जनाएका छन्। उनले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरोध गर्दै, देशको कानून गरिब र निसहाय जनतामाथि मात्र लागू भएको गुनासो गरेका छन्। भ्रष्टाचारविरुद्धको जनआन्दोलन अपरिहार्य भएको बताउँदै आफू पनि आन्दोलनमा सहभागी हुने बताएका छन्।

त्यस्तै, अभिनेता पल शाहले पनि सामाजिक सञ्जाल प्रतिबन्ध र अभिव्यक्ति स्वतन्त्रताको हननले परिस्थितिलाई अझ गम्भीर बनाएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले फेसबुकमा स्टाटस लेख्दै जेन–जीलाई शान्तिपूर्ण तरिकाले आवाज उठाउन आग्रह गरेका छन्।