• २०८३ असार १५
  • 2026 June 29, Monday

१० महिनामा पुँजीगत खर्च ३४% मा सीमित, राजस्व संकलन ६५%

काठमाडौं।  आर्थिक वर्ष सकिन अझै दुई महिना बाँकी रहँदा सरकारको पुँजीगत खर्च अत्यन्तै न्यून देखिएको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार हालसम्म पुँजीगत खर्च कुल विनियोजित रकमको मात्र ३४.१६ प्रतिशत पुगेको छ।

संघीय सरकारका विभिन्न निकायहरूलाई चालु आर्थिक वर्षका लागि विनियोजित ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँमध्ये वैशाख मसान्तसम्म जम्मा १ खर्ब २० अर्ब ३७ करोड ६४ लाख रुपैयाँ मात्र खर्च भएको छ।

त्यस्तै, सरकारको कुल खर्च ११ खर्ब ५७ अर्ब ८९ करोड २५ लाख रुपैयाँ पुगेको छ। यसमध्ये चालु खर्च ७ खर्ब ७३ अर्ब २२ करोड ६७ लाख रुपैयाँ (६७.७९%) र वित्तीय व्यवस्थातर्फ २ खर्ब ६४ अर्ब २८ करोड ९४ लाख रुपैयाँ (७१.९६%) खर्च भएको छ।

उता, सरकारको आम्दानी ९ खर्ब २२ अर्ब ४३ करोड १९ लाख रुपैयाँ पुगेको छ। कर राजस्वबाट ८ खर्ब २८ अर्ब ९४ करोड १८ लाख र गैरकर राजस्वबाट ९३ अर्ब ४९ करोड १ लाख रुपैयाँ संकलन भएको छ।यो आम्दानी चालु वर्षका लागि लक्ष्य गरिएको १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँको ६४.९९ प्रतिशत मात्र हो।