
काठमाडौं। आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले बहराइनमाथि सहज जित हात पारेको छ। वर्षाले प्रभावित खेलमा नेपाल ६ विकेटले विजयी भएको हो।
बुधवार सम्पन्न खेलमा वर्षाका कारण लक्ष्य घटाइएकाले नेपाललाई ७ ओभरमा ५६ रनको लक्ष्य दिइएको थियो। नेपालले उक्त लक्ष्य ८ बल बाँकी रहँदै ४ विकेटको क्षतिमा पुरा गर्यो।नेपालको जितमा कप्तान इन्दु बर्माको आक्रमण शैलीको पारी निर्णायक बन्यो। उनले ७ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै २४ रनको योगदान दिइन्।
अब नेपालको सुपर थ्री प्रवेशको सम्भावना हङकङको प्रदर्शनमा निर्भर छ। नेपालले समूह चरणका ४ खेलमा २ जित, १ हार र १ वर्षाले रद्द हुँदा ५ अंक जोडेको छ। हङकङले ३ खेलमा ४ अंक बनाएको छ। अब शुक्रबार हुने बहराइनविरुद्धको अन्तिम खेलमा हङकङ पराजित भए मात्र नेपाल सुपर थ्रीमा प्रवेश गर्नेछ।