हिमालको सुरक्षा पृथ्वी र भविष्यको सुरक्षा हो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालको संरक्षणलाई पृथ्वी, महासागर र सम्पूर्ण मानवताको संरक्षणसँग जोड्दै ‘सगरमाथा संवाद’ त्यसै यथार्थलाई आत्मसात् गरेर सुरु गरिएको बताएका छन्।

शुक्रबार काठमाडौंमा सुरु भएको पहिलो सगरमाथा संवादको उद्घाटन सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वातावरणीय संकटबारे इमान्दार संवाद, आपसी ज्ञान साटासाट र साझा कदम चाल्न सगरमाथाको नाममा यो विश्वव्यापी पहल सुरु गरिएको उल्लेख गरे।

उनले भने, “हामी चाहन्छौं यो संवाद पनि सगरमाथाको उचाइसरह उच्च बनोस् – नैतिक स्पष्टता, बौद्धिक साहस र सुन्दर भविष्य निर्माणप्रति साझा अटल दृष्टिकोणसहित।”

प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनमा नेपालजस्तो देशको योगदान न्यून भए पनि त्यसका नकारात्मक असर भने disproportionate रूपमा भोग्नुपरेको बताए। “हामीले हरितगृह ग्यास उत्सर्जन कम गरेका छौं, तर असर भने निकै भोगिरहेका छौं,” उनले भने, “पहिरोले हाम्रा बस्ती बगाउँछ, अकस्मात् बाढी र खडेरीले जनजीवन प्रभावित हुन्छ – यस्ता चुनौतीका बाबजुद हामी डटेर उभिएका छौं।”

उनका अनुसार सगरमाथा संवाद विश्व समुदायबीच जलवायु संकट समाधानका लागि सहकार्यको अवसर हो, जसबाट व्यवहारिक कदमको अपेक्षा गरिएको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१