• २०८३ असार १५
  • 2026 June 29, Monday

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबार बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ साङ्कलन (तान्ने) गर्ने भएको छ।  पछिल्लो समय बजारमा तरलता बढी भएपछि राष्ट्र बैंकले नियमित रूपमा बैंकिङ प्रणालीबाट निक्षेप रकम उठाउने कार्य गरिरहेको छ।

यसअघि आइतबार मात्रै राष्ट्र बैंकले २४ अर्ब रुपैयाँ उठाएको थियो।राष्ट्र बैंकका अनुसार बिहीबार दिउँसो ३ बजे २१ दिनको अवधिका लागि बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ।

यसमा सहभागी बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र त्यसको पाँच करोडले भाग जाँदा बाँकी रहने निःशेष भागमा प्रतिस्पर्धा गर्न सक्ने छन्।

बोलकबोलका लागि सावाँ तथा ब्याज भुक्तानी आगामी जेठ २८ गते तय गरिएको छ। ब्याजदर पनि बोलकबोल प्रक्रियामार्फत निर्धारण हुनेछ।यस प्रक्रियामा बहुब्याजदर प्रणालीअन्तर्गत बहुबोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।

निक्षेप संकलनको यस उपकरणमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने राष्ट्र बैंकले जनाएको छ।