काठमाडौं। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले बुधबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष सपथ लिएपछि उनले बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयमा कार्यभार सम्हालेका हुन्।
पदभार ग्रहणपछि गभर्नर पौडेलले सरकारको आगामी बजेटलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न सघाउने गरी मौद्रिक नीति तयार पारिने जानकारी दिए। मुलुकको आर्थिक गतिविधिलाई सक्रिय बनाउन सबै सरोकारवालासँग समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
नवनियुक्त गभर्नर पौडेलले राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले दिएको राजीनामालाई आन्तरिक विषयको रूपमा उल्लेख गर्दै सोबारे थप टिप्पणी गर्न चाहेनन्।
गभर्नरको रूपमा पदभार ग्रहण गरेपछि उनले रु ५०० र रु १,००० दरका नयाँ नोट छपाइका लागि निर्णयमा हस्ताक्षरसमेत गरेका छन्। सरकारले मङ्गलवार डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको थियो।
