काठमाडौं। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कुनै एक कर्मचारीको गल्तीका आधारमा गृहमन्त्रीको राजीनामा माग्नु गलत भएको टिप्पणी गरेका छन्। आइतबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा बोल्दै सिटौलाले यस्तो अभ्यासले गलत परम्परा स्थापित हुने चेतावनी दिए।
“कुनै पनि कर्मचारीको व्यक्तिगत गल्तीलाई लिएर मन्त्रीको नैतिक जिम्मेवारी उठाउने हो भने गलत नजिर बस्छ,” सिटौलाले भने, “विगतमा जब मन्त्रीमाथि आरोप लागे, तब राजीनामा दिइएको हो।
अहिले अध्यागमन विभागका कर्मचारीमाथि आरोप छ, छानबिनको प्रक्रिया चलिरहेको छ, त्यसैले केही समय पर्खनु उपयुक्त हुन्छ।”यसअघि शनिबार कांग्रेस नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका थिए।
संविधानको समीक्षा आवश्यक नेता सिटौलाले हिन्दू राष्ट्र वा संवैधानिक राजसंस्था पुनःस्थापनाका लागि जनमत सङ्ग्रह आवश्यक नरहेको धारणा राखे। उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई समयअनुकूल परिमार्जन गर्दै थप सुदृढ गर्नुपर्नेमा जोड दिए।
“राजसंस्था अब कुनै हालतमा फर्किने अवस्था छैन,” उनले स्पष्ट पारे। प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीप्रति असहमति जनाउँदै सिटौलाले नेपालका लागि संघीय लोकतान्त्रिक संसदीय प्रणाली नै उपयुक्त भएको बताए।
कांग्रेस महाधिवेशन २०८३ मा सम्भव कांग्रेसको १५औं महाधिवेशनबारे टिप्पणी गर्दै सिटौलाले २०८२ मंसिरमा महाधिवेशन सम्भव नदेखिएको बताए। “सम्भवतः २०८३ सालको दशैंपछिकै समयमा महाधिवेशन गर्ने गरी तयारी गर्नु उपयुक्त हुन्छ,” सिटौलाले भने।