• २०८३ असार ७
  • 2026 June 21, Sunday

नातिलाई साथमा लिएर नारायणहिटी पुगे पूर्वराजा, रणनीतिक सन्देश?

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पछिल्लो समय राजनीतिक रूपमा संकेतपूर्ण गतिविधिहरु गर्दै आएका छन्। शनिबार उनले नाति हृदयन्द्र शाहसहित नारायणहिटी दरबार परिसरको भ्रमण गरेपछि यसले राजनीतिक वृत्तमा चासो थपिएको छ।

राजतन्त्र अन्त्यसँगै नारायणहिटी छोडेका पूर्वराजा बेलाबेलामा आफ्नी आमालाई भेट्न त्यहाँ पुग्ने गरेका छन्। पूर्वमहारानी रत्नराज्य लक्ष्मी देवी अहिले पनि नारायणहिटीमै बसोबास गर्दै आएकी छन्। तर, शनिबारको भ्रमणलाई सामान्य भेटघाटभन्दा फरक रूपमा हेरिएको छ, किनभने यसपटक पूर्वराजा परिवारसहित दरबार प्रवेश गरेका थिए।

भ्रमणमा पूर्वरानी कोमल, छोरी प्रेरणा र नाति हृदयन्द्र सहभागी थिए। राजाका छोरा पारस र बुहारी हिमानी भने अनुपस्थित रहे। दुई नातिनीहरू विदेशमा भएकाले भ्रमणमा सामेल हुन सकेनन्।

दरबार प्रवेशको क्रममा नेपाल ऋषि डा. जगमान गुरुङको नेतृत्वमा पूर्वराजालाई विशेष स्वागत गरिएको थियो। नारायणहिटी परिसरस्थित चतुष्कोणधाम नारायण मन्दिरमा पूजाआजा गरिएको थियो, जसमा हृदयन्द्र शाहको पनि सक्रिय सहभागिता रहेको बताइएको छ।

राजसंस्थानिकट एक स्रोतका अनुसार यो भ्रमण पूर्वनवयुवराज हृदयन्द्र शाहको व्यक्तिगत इच्छाअनुसार तय गरिएको हो। अमेरिकामा अध्ययनरत हृदयन्द्र केही समयअघि नेपाल आएका हुन्। “उहाँले आफू जन्मिएको दरबार जान र बडामहारानीलाई भेट्ने इच्छा व्यक्त गर्नुभएको थियो, त्यसअनुसार शनिबारको भ्रमण तय गरिएको हो,” स्रोतले दाबी गर्‍यो।

पूर्वराजाका संवाद सचिव फणिराज पाठकले पनि भ्रमण पूर्वराजाको निर्णयअनुसार भएको पुष्टि गरे। “हाम्रो समाजमा जस्तै त्यहाँ बाबुबाजेलाई नटेर्ने संस्कार छैन,” पाठकले भने, “को जाने भन्ने निर्णय हजुरबाले गर्नुहुन्छ, उहाँलाई नसोधी कसैले केही गर्दैन।”

भ्रमणको समयावधि पनि अर्थपूर्ण ठानिएको छ। आगामी जेठ १५ गतेदेखि राजसंस्था पुनर्स्थापनाको मागसहित आन्दोलन सुरु गर्ने तयारीमा रहेका राजावादी शक्तिहरुले पूर्वराजाको यो उपस्थितिलाई ‘सन्देशमूलक’ मानेका छन्।

डा. जगमान गुरुङले केही दिनअघि नै जेठ १५ गते पूर्वराजालाई नारायणहिटी दरबारमा ‘गद्दीमा राख्ने’ घोषणा गरेका थिए। यिनै प्रसंगसँग जोडेर शनिबारको भ्रमणलाई रणनीतिक संकेतका रूपमा पनि विश्लेषण गरिँदैछ।

राजसंस्थाभित्र अहिले हृदयन्द्र शाहको नाम विशेष चर्चा पाएको छ। युवामाझ उनको लोकप्रियता बढ्दो छ। कतिपय राजावादी समूहले हृदयन्द्रलाई नै सिधै राजा बनाउनुपर्ने प्रस्ताव गरिरहेका छन्। तर पूर्वराजा ज्ञानेन्द्र अझै स्वयम् राजसंस्थाको नेतृत्वमा फर्किन चाहन्छन् भन्ने बुझाइ पनि रहँदै आएको छ।

हृदयन्द्र जेठ ३ गते अमेरिकाबाट नेपाल आएका हुन्। औपचारिक रूपमा ‘विदा मनाउन आएका’ भनिए पनि उनी कति समय नेपालमा रहने र कहिले फर्किने भन्ने खुलाइएको छैन।