
काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादी धारले काठमाडौंमा जेठ १५ गते आयोजना गर्न लागिएको आन्दोलनलाई असफल पारिने बताएका छन्।
आइतबार ललितपुरमा एमाले बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको भेलामा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन्।प्रधानमन्त्री ओलीले राजावादीको नाममा समाजमा अशान्ति फैलाउने कोसिसलाई कुनै स्थान नदिइने स्पष्ट पारे। “यी तथाकथित राजावादीहरू वास्तवमा केही होइनन्, खाओवादी प्रवृत्तिका हुन्,” उनले भने। ओलीले ‘हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो’ भन्नेहरूले नारायणहिटीमा राजा वीरेन्द्र र उनको परिवारको हत्या हुँदा केही नगरेको उल्लेख गर्दै ती नारालाई प्रश्न गरेका छन्।
“यदि राजा साँच्चिकै प्राणभन्दा प्यारो थिए भने त्यस्तो हत्याकाण्ड हुँदा यिनीहरू कहाँ थिए?” भन्दै उनले आन्दोलनको उद्देश्यमाथि शंका व्यक्त गरे।प्रधानमन्त्री ओलीले यस्ता समूहहरूले जनताको हितभन्दा व्यक्तिगत स्वार्थका लागि आन्दोलन गर्ने बताए। “सरकार र जनताले केही समय मौनता अपनाएका कारण उनीहरू फुर्तिलो देखिएका होलान्, तर एमाले सडकमा उत्रिएपछि कता जान्छन् हेर्दै जाउँ,” उनले भने।
भेलामा सहभागी वडाध्यक्षहरूलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जेठ १५ गतेका लागि तत्काल तयारी थाल्न निर्देशन दिए। “पार्टीको निर्देशनपछि मात्रै कुर्नु पर्दैन, भोलिदेखि नै तयारीमा लाग्नुस्। काठमाडौं ११ बजेदेखि २ बजेसम्म एमालेको नियन्त्रणमा हुनुपर्छ,” उनले जोड दिए। ओलीले आन्दोलनमा सबैलाई एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरे। “आन्दोलनमा प्रोटोकल हुँदैन, सबै एकै सरह हो। नेतृत्व कसले गर्छ भन्ने नहेरी पार्टीको निर्णयअनुसार अघि बढ्नुपर्छ,” उनले भने।