• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

नेपालको सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब रुपैयाँ पुग्यो

काठमाडौं ।  नेपालको कुल सार्वजनिक ऋण २६ खर्ब नाघेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्ममा देशको कुल सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ पुगेको हो।

आर्थिक वर्ष २०८१/८२ को सुरुमा, अर्थात् असार मसान्तसम्म कुल ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ थियो। त्यसयता १० महिनामा झन्डै १ खर्ब ८८ अर्ब ३० करोड रुपैयाँ बराबरको ऋण थपिएको हो।

हालको कुल ऋणमा आन्तरिक ऋणको हिस्सा ४८.३१ प्रतिशत रहेको छ भने बाह्य ऋणको हिस्सा ५१.६९ प्रतिशत पुगेको छ।सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण संकलन गर्ने लक्ष्य लिएको थियो।

वैशाख मसान्तसम्म कुल ३ खर्ब ९० अर्ब ८३ करोड रुपैयाँ ऋण संकलन भइसकेको छ, जुन वार्षिक लक्ष्यको ७१.४५ प्रतिशत हो। प्राप्त ऋणमध्ये आन्तरिक ऋण ९१.२५ प्रतिशत र बाह्य ऋण ४१.३३ प्रतिशत प्रगतिमा पुगेका छन्।

त्यस्तै, चालु वर्षका लागि ऋण सेवा खर्चका रूपमा ४ खर्ब २ अर्ब ८५ करोड रुपैयाँ विनियोजन गरिएकोमा वैशाख मसान्तसम्म ३ खर्ब ८ अर्ब १४ करोड रुपैयाँ भुक्तानी भइसकेको छ। यो कुल विनियोजित बजेटको ७६.४९ प्रतिशत हो।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार, वैशाख मसान्तसम्म ऋण सेवा खर्च देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) को ५.५ प्रतिशत बराबर पुगेको छ।