• २०८३ असार ७
  • 2026 June 21, Sunday

क्लिनचिट उपरवालाले दिन्छन्, पार्टीले होइन: डा. सुनिल शर्मा

  • २०८२ जेठ १३, मङ्गलबार १९:५५

काठमाडौं। नक्कली भिजिट भिसा प्रकरणमा गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक मुछिएपछि नेपाली कांग्रेसभित्र दुई धार देखा परेका छन्। यही विषयमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. सुनिल शर्माले गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने अडान दोहोर्‍याएका छन्। संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीले आफूहरूलाई कारबाही गर्ने भन्ने हल्लाबारे कुनै आधिकारिक जानकारी नभएको र त्यस्तो निर्णय भए आफू त्यसको सामना गर्न तयार रहेको बताएका छन्।

शर्माले भने, “यो मिडियामा सुनेको कुरा हो, पार्टीको आधिकारिक निर्णय होइन। पदाधिकारी बैठकमा विभिन्न एजेन्डामा छलफल हुन्छन्, तर त्यो निर्णय नै हो भन्ने मलाई थाहा छैन।” उनले नेपाली कांग्रेस बिपी कोइराला र गणेशमान सिंहले स्थापना गरेको पार्टी भएको उल्लेख गर्दै भने, “वर्तमान सभापति शेरबहादुर देउवामा पनि बिपीको आत्माको केही अंश बाँकी छ। त्यसैले पार्टीले यस्तो गम्भीर त्रुटि  गर्नेमा विश्वास छैन। यदि गर्‍यो भने हामी त्यसको सामना गर्नेछौं।”

गृहमन्त्रीको राजीनामाबारे उनले भने, “यो माग होइन, हाम्रो सल्लाह हो। यति ठूलो विवाद भइसकेपछि नैतिकताको आधारमा राजीनामा दिएर अनुसन्धान सकिएपछि फेरि फर्किन सकिन्छ।”

“क्लिनचिट” सम्बन्धी सवालमा शर्माले भने, “सबैभन्दा ठूलो क्लिनचिट उपरवालाले दिन्छन्, अनि आफ्नो अन्तरआत्माले दिन्छ। पार्टीले क्लिनचिट दियो भन्दैमा हुँदैन, अनुसन्धानको प्रक्रियाबाट निष्कर्ष आउनुपर्छ।”

कांग्रेसभित्रै आफूहरूलाई प्रतिपक्षी जस्तो व्यवहार गरिएको भन्ने आरोपबारे उनले भने, “हामी जनता, देश र त्यसपछि मात्रै पार्टीप्रति उत्तरदायी छौं। व्यक्ति खराब हुन सक्छ, पार्टी होइन। कांग्रेसको सिद्धान्त, आदर्श आज पनि संसारमा उत्कृष्ट छ।”

शशांक कोइरालाले आफूहरूबाट स्पष्टीकरण मागिनुपर्छ भनेकोबारे शर्माले भने, “शशांक दाइ सोझो मान्छे हो, कसैले केही भनेर उक्सायो होला। उहाँले राम्रै कुरा बोल्नुभएको थियो, एउटा शब्द चिप्लिएको हो, बिपीको छोरो हो, आममाफी छ।”

प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको विवादास्पद अभिव्यक्तिबारे उनले भने, “प्रधानमन्त्री राष्ट्रको अभिभावक हो। राप्रपाका साथीहरूले हेलिकप्टर लिएर तयार हुनुस् भनेपछि त्यसको प्रतिक्रियामा त्यो आएको होला। तर प्रधानमन्त्रीको अभिव्यक्ति लोकतान्त्रिक पद्धतिभित्र पर्न गाह्रो छ, त्यो अत्यधिक भावनात्मक देखियो। कांग्रेसले त्यसलाई समर्थन गर्दैन। लोकतन्त्रमा फरक विचार राख्नेलाई शान्तिपूर्ण रूपमा कार्यक्रम गर्न दिनुपर्छ, दमन गर्नु हुँदैन।”

प्रकाशचन्द्र दाहाल प्रकरणमा सञ्चारमाध्यममाथि लगाइएको प्रतिबन्धबारे उनले सरकारलाई बिनाशर्त फिर्ता लिन आग्रह गरे।

संसद अवरोधबारे शर्माले भने, “प्रतिपक्षीले गृहमन्त्रीको राजीनामा माग्दै संसद अवरुद्ध गर्नुभएको छ। हाम्रो पार्टीभित्र पनि विभिन्न मत छन्। मेरो व्यक्तिगत धारणा हो — संसारका कुनै पनि नेताले नैतिक धरातलमा राजनीति गर्नुपर्छ।”

  • २०८२ जेठ १३, मङ्गलबार १९:५५