काठमाडौँ । सोलुखुम्बु जिल्लाको लिखु पिके गाउँपालिकामा भारतीय सरकारको आर्थिक सहयोगमा एक नयाँ गुम्बा भवनको निर्माण कार्य सुरु भएको छ । कोशी प्रदेश अन्तर्गत पर्ने यस गाउँपालिकामा ‘ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग गुम्बा’को भवन निर्माणका लागि बुधबार एक विशेष समारोहबीच शिलान्यास गरिएको हो ।
लिखु पिके गाउँपालिकाका अध्यक्ष श्रीमती मिना कार्की बस्नेत र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजय कुमार सिंहले संयुक्त रूपमा उक्त गुम्बा भवनको शिलान्यास गरेका हुन् ।
नेपाल–भारत विकास सहयोग अन्तर्गत भारत सरकारको करिब नेरु ३ करोड ३० लाख लागतमा यो भवन निर्माण हुन लागेको हो । यो परियोजना ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ अन्तर्गत कार्यान्वयन भइरहेको छ । सोलुखुम्बु जिल्लामा कार्यान्वयनमा आएको यो छैटौँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो, जसको व्यवस्थापन लिखु पिके गाउँपालिकामार्फत गरिनेछ ।

शिलान्यास समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष बस्नेत तथा अन्य स्थानीय सरोकारवालाहरूले विकासका क्षेत्रमा भारत सरकारले पुर्याउँदै आएको निरन्तर सहयोगको प्रशंसा गरे । नयाँ बन्ने यस पूर्वाधारले लिखु पिके क्षेत्रको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण र सम्वर्द्धनमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।
निकट छिमेकीका रूपमा नेपाल र भारतबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ । प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार विकास गरी नेपाली जनताको जीवनस्तर सुधार्ने र विकासलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासमा भारतले निरन्तर सहयोग गर्दै आएको यस परियोजनाले पुनः पुष्टि गरेको छ ।