• २०८३ असार १५
  • 2026 June 29, Monday

नयाँ बजेट आज: १०% तलब वृद्धिको सम्भावना, १९ खर्बको खर्च योजना

काठमाडौं । संघीय सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि राजस्व र खर्चको अनुमानसहितको वार्षिक बजेट आज सार्वजनिक गर्दैछ। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिउँसो ३ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यतालिका संसद् सचिवालयले सार्वजनिक गरेको छ।

बजेट पेस गर्नु अघि अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण संसद्मा प्रस्तुत गर्नेछन्। बजेटसँगै विनियोजन विधेयक, आर्थिक विधेयक तथा राष्ट्र ऋण उठाउने विधेयकसमेत संसद्मा पेश गरिनेछ।

संविधानको धारा ११९(३) अनुसार, प्रत्येक वर्ष जेठ १५ गते संघीय संसद्मा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ। यस्तै, राष्ट्रिय स्रोत अनुमान समितिले आगामी वर्षको लागि १९ खर्ब रुपैयाँको बजेट सीमा निर्धारण गरिसकेको छ।

सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई सम्बोधन गर्दै आर्थिक सुधारमा जोड दिने र सामाजिक सुरक्षा सुदृढ गर्ने उद्देश्यसहित बजेट ल्याउन लागेको हो।

विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै मंगलबारदेखि संसद् अवरुद्ध गर्दै आए पनि बजेट प्रस्तुत गर्न दिने निर्णय गरेका छन्।

बजेटमा निजामती, सुरक्षा निकाय तथा शिक्षकसमेतका करिब ५ लाख कर्मचारीको आधारभूत तलब १० प्रतिशतले वृद्धि हुने सम्भावना रहेको छ भने महंगी भत्ता भने यथावत् राखिने तयारी छ।