• २०८३ असार १४
  • 2026 June 28, Sunday

सगरमाथा चढेपछि मिर्गौला प्रत्यारोपित पेम्बा शेर्पालाई स्वास्थ्यमन्त्रीको सम्मान

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मृगौला प्रत्यारोपणपछि सगरमाथाको सफल आरोहण गर्ने कीर्तिमानी आरोही पेम्बा शेर्पालाई सम्मान गरेका छन्।

सोलुखुम्बु निवासी शेर्पाले मृगौला प्रत्यारोपणपछि सगरमाथा चढ्ने विश्वकै पहिलो व्यक्ति बनेका छन्। स्वास्थ्य मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा मन्त्री पौडेलले उनलाई बधाई दिँदै, यो उपलब्धिले विश्वमै नयाँ कीर्तिमान र इतिहास रचेको उल्लेख गरे।

मन्त्री पौडेलले भने,“नेपाल मात्र होइन, विश्वमै तपाईंले रेकर्ड कायम गर्नुभएको छ। मन्त्रालयले तपाईंलाई अङ्ग प्रत्यारोपण प्रवर्द्धन दूतको रूपमा नियुक्त गर्नेछ।”

उनले हाल नेपालमा मष्तिष्क मृत्युपछि अंग दान गर्न सकिने कानुनी व्यवस्था भए पनि दाता पर्याप्त नपाइने समस्या रहेको उल्लेख गर्दै, पेम्बा शेर्पाको यो साहसिक यात्रा सचेतना फैलाउन प्रेरणादायी बन्ने विश्वास व्यक्त गरे।