• २०८३ असार १४
  • 2026 June 28, Sunday

भारतको मुम्बईमा रेलबाट खस्दा पाँच जनाको ज्यान गयो, अत्यधिक भीड कारण

काठमाडौँ । भारतको मुम्बईमा अत्यधिक भीड भएको लोकल रेलबाट खसेर पाँच यात्रुको ज्यान गएको छ। सेन्ट्रल रेलवेका अनुसार दुर्घटना सोमबार दिउँसो कोपर रेलवे स्टेसन नजिकै भएको हो।

छत्रपति शिवाजी महाराज टर्मिनलतर्फ गइरहेको लोकल ट्रेन मुंब्रा स्टेशन नजिक पुगेका बेला भीडका कारण यात्रुहरू रेलको ढोकाबाट तल खसेका थिए। प्रारम्भिक अनुसन्धानअनुसार ट्रेनमा अत्यधिक भीड हुँदा यात्रुहरू ढोकाबाट झुन्डिएर यात्रा गरिरहेका थिए, जुन दुर्घटनाको प्रमुख कारण मानिएको छ।

घटनापछि रेलवे प्रशासन र प्रहरी तत्काल घटनास्थलमा पुगेका थिए। घाइतेहरूलाई नजिकको अस्पतालमा उपचारका लागि लगिएको छ भने घटनाबारे थप अनुसन्धान जारी छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका केही भिडियोहरूमा यात्रुहरू रेलबाट खस्दै गरेको दृश्य देखिन्छ। उनीहरूलाई ट्र्याकबाट उठाएर प्लेटफर्ममा ल्याइएको थियो। भारतीय सञ्चार माध्यमहरूका अनुसार मृतकहरूको उमेर ३० देखि ३५ वर्षको बीचमा रहेको छ।

दुर्घटनापछि रेल सुरक्षालाई लिएर प्रश्न उठ्न थालेका छन्। यसैबीच, रेलवे बोर्डले यस्तो प्रकारका दुर्घटना रोक्न अब लोकल रेलहरूमा स्वचालित ढोका प्रणाली (Automatic Door System) लागू गर्ने निर्णय लिएको जनाएको छ।