उडानको केही मिनेटमै खस्यो एअर इन्डियाको जहाज ! भारतीय, बेलायती र अन्य विदेशी यात्रु सवार

काठमाडाैं । एअर इन्डियाको ग्याटविक (लन्डन) गन्तव्यका लागि उडेको ‘बी७८७–ड्रिमलाइनर’ विमान अहमदाबाद विमानस्थलबाट उडेको केही समयमै दुर्घटनाग्रस्त भएको छ। VT-ANB दर्ता नम्बर रहेको यो जहाजले सन् २०१३ डिसेम्बर १४ मा पहिलो परीक्षण उडान भरेको थियो र २०१४ जनवरीमा एअर इन्डियाले बोइङ कम्पनीबाट प्राप्त गरेको थियो।

अहमदाबाद विमानस्थल समुद्र सतहबाट २०० फिट उचाइमा अवस्थित रहेको छ। जहाज धावनमार्ग छाडेपछि मात्र ६२५ फिट उचाइमा पुगेर प्रतिमिनेट ४७५ फिटको गतिमा खस्दा दुर्घटना भएको प्रारम्भिक रिपोर्टहरूमा उल्लेख छ। उडान थालेको एक मिनेट नहुँदै दुर्घटना भएको हो।

हिन्दुस्तान टाइम्सका अनुसार विमानमा २४२ जना सवार थिए, जसमा १६९ जना भारतीय, ५३ बेलायती, १ क्यानाडेली र ७ जना पोर्चुगिज नागरिक थिए। दुईजना पाइलटसहित १० जना चालक दलका सदस्यहरू पनि विमानमा थिए। भारतीय सञ्चारमाध्यमले गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणी पनि विमानमा सवार रहेको जनाएका छन्।

दुर्घटनापछि आकाशमा बाक्लो कालो धुवाँ देखिएको भिडियोहरू सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएका छन्। हाल अहमदाबाद विमानस्थलको सम्पूर्ण उडान सेवा अस्थायी रूपमा स्थगित गरिएको छ।

घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिक उड्डयन मन्त्री रममोहन नायडूसँग टेलिफोन संवाद गरेका छन् र तुरुन्त उद्धार तथा राहत कार्यको निर्देशन दिएका छन्। मन्त्री नायडु घटनास्थलतर्फ प्रस्थान गरिसकेका छन्। सबै सम्बन्धित निकायहरू उच्च सतर्कतामा राखिएको छ र समन्वयसाथ उद्धार कार्य भइरहेको जनाइएको छ।

अहिलेसम्म क्षतिको विस्तृत विवरण आउन बाँकी छ भने घटनाबारे थप जानकारीका लागि अनुसन्धान भइरहेको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१