
नेपालको समकालीन आर्थिक परिप्रेक्ष्यमा एउटा गम्भीर तर सम्भावनायुक्त मोड आइपुगेको छ। निजी क्षेत्र, विशेषतः उद्यमशील वर्गका लागि यो समय हतोत्साही होइन, उत्साही हुने समय हो। लामो समयदेखि सरकारी नीति निर्माणदेखि निजी संस्थाहरूको व्यवस्थापनसम्मको अनुभवले मैले महसुस गरेको कुरा यही हो—नेपालमा लगानी गर्न अहिले जस्तो उचित समय विरलै आउँछ।
आज बैंकिङ प्रणालीमा प्रशस्त तरलता छ, ब्याजदर ऐतिहासिक रूपमा न्यून बिन्दुमा छ, र सरकार नीतिगत र पूर्वाधारका क्षेत्रमा सक्रिय देखिएको छ। यदि उद्यमीहरूले आत्मविश्वासका साथ नवीन सोच र दीर्घकालीन दृष्टिकोण लिएर अघि बढे भने यो समय उनीहरूका लागि ‘टर्निङ प्वाइन्ट’ सावित हुन सक्छ। तर, गुनासो मात्र गरेर अघि बढ्न सकिन्न। हामीले सरकारी प्रयासलाई पनि चिन्नु र अवसरको पहिचान गर्नु आवश्यक छ।
पूर्वाधारमा भएको प्रगति: सम्भावनाको ढोका
विगत केही वर्षमा नेपालले पूर्वाधारको क्षेत्रमा महत्त्वपूर्ण प्रगति गरेको छ। उदाहरणका लागि, मध्यपहाडी लोकमार्ग अब केवल सडक होइन, गाउँगाउँमा विकासको सम्भावना बोकेको जीवनरेखा बनेको छ। हिजो ‘दुर्गम’ भनिएका गाउँहरू अब बजार, पर्यटक र लगानीकर्तासँग प्रत्यक्ष जोडिन थालेका छन्। यस्तो पूर्वाधारको प्रयोग गरेर हामीले पर्यटनमा ‘डिस्पर्सल’ मोडल अपनाउन सक्नेछौँ, जसले भीडभाड भएका ठाउँबाट पर्यटकलाई ग्रामीण सुन्दरता र सांस्कृतिक सम्पदातर्फ डो¥याउँछ।
कम्युनिटी होमस्टे, गाउँ पर्यटन, रेक्रिएसनल पदयात्रा जस्ता अवधारणाहरूले अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउँदै पुरस्कारसमेत जितिरहेका छन्। काठमाडौं उपत्यकाभित्र र वरपरमै पनि दर्जनौँ सम्भावनाहरू छन्, जहाँ लगानी गरी सस्तो र प्रामाणिक अनुभव प्रदान गर्न सकिन्छ।
नीतिगत प्रयास: सरकारको तयारी
सरकारले पर्यटनको नयाँ नीति क्याबिनेटमा पु¥याइसकेको छ भने नयाँ पर्यटन ऐन संसदमा छलफलको प्रक्रियामा छ। नागरिक उड्डयन प्राधिकरणलाई दुई भागमा विभाजित गर्ने कानुनको पुनः संसदमा प्रवेश यसैको संकेत हो कि, सरकार युरोपेली संघ (EU) को कालोसूचीबाट हट्न गम्भीर छ। यसका साथै, प्रधानमन्त्रीकै अध्यक्षतामा सम्पन्न राष्ट्रिय पर्यटन संवाद तथा १० वर्षे रणनीतिक योजना तयार हुनु पनि सकारात्मक पक्ष हो।
तर, यी सबै पहलहरूलाई मूर्त रूप दिनका लागि निजी क्षेत्रको सहकार्य अत्यावश्यक छ। सरकार केवल नीति दिन सक्छ, मार्ग देखाउन सक्छ; तर त्यो मार्गमा यात्रा गर्ने शक्ति उद्यमशीलता र लगानीकै हो।
राष्ट्रिय ध्वजावाहकको मजबूती: पर्यटन विकासको कडी
नेपालमा पर्यटक भित्र्याउने मुख्य माध्यम भनेको हवाई यातायात हो। आज ३१ वटा अन्तर्राष्ट्रिय एयरलाइन्स नेपाल आउँछन्, तर हाम्रो आफ्नै ३ वटा मात्र छन्। तीमध्ये पनि नेपाल एयरलाइन्सको सेवा सीमित, दक्षता कमजोर र गन्तव्य अत्यन्त सिमित छन्। जसमध्ये अधिकांश गन्तव्य श्रमशक्ति ओसारपसारसँग जोडिएका छन्।
यसको अर्थ के हो भने—श्रम गर्ने नेपाली, पैसा लगाउने पनि नेपाली, तर मुनाफा चाहिँ विदेशी एयरलाइन्सले लैजान्छन्। यथार्थ के हो भने, नेपाल आउन टिकट महँगो छ, तर नेपाल भित्र उपभोग गर्न सस्तो छ। यस्तो असन्तुलन पर्यटनको समुचित लाभ देश भित्र राख्न असक्षम बनाइरहेको छ।
यसको समाधान भनेको दुईवटा काम सँगसँगै गर्नु हो—पहिलो, नेपाल एयरलाइन्सलाई सक्षम बनाउने, चाहे त्यो निजी व्यवस्थापन, व्यवस्थापन करार वा अन्तर्राष्ट्रिय संयुक्त लगानीमार्फत होस्। दोस्रो, नेपाललाई ईयुको कालोसूचीबाट हटाउने। यी दुई विषय सँगसँगै अघि बढ्न नसके हामी सधैं परनिर्भर हुने अवस्था नै रहिरहन्छ।
नयाँ युगको सन्देश: अवसर चिनौं, योगदान गरौं
अहिले हामी जुन युगमा छौं, त्यो अवसरको युग हो। बैंकमा लगानी योग्य पैसा छ, पूर्वाधार बनिसकेका छन्, सरकार नीतिगत रूपमै लचिलो हुँदै गएको छ। यस्तो बेलामा नेपाली उद्यमीले हिम्मत गर्नुपर्छ, लगानीको बाटो समात्नुपर्छ।
नेपालमै कमाउनु भनेको नेपालकै समृद्धि हो। हामी आफैंले यो देशका लागि केही गर्ने भावना लिएर अघि बढ्यौं भने राज्यले पनि हामीलाई साथ दिनेछ। हामीले राष्ट्र निर्माणलाई केवल सरकारको काम ठानेर पन्छिन मिल्दैन। देश बनाउने जिम्मा सबैको हो—सरकार, निजी क्षेत्र, र प्रत्येक नागरिकको।
अन्ततः, गुनासो गरेर होइन, अवसर पहिचान गरेर मात्र हामी नयाँ युगमा प्रवेश गर्न सक्छौं। देशले हामीबाट अपेक्षा गरिरहेको छ—हामी के फर्काउँछौं, त्यो हाम्रो विवेक र संकल्पमा भर पर्छ।
–हुलाक सञ्चारको चौथो वार्षिकोत्सवमा आयोजित हुलाक पथ ‘नेपालमा पर्यटनः सम्भावनाहरुको नयाँ युग’ विषयको विचार विमर्शमा प्रस्तुत गरेको विचारको सम्पादित अंश