
म एकैसाथ क्लिनिकल र प्रशासनिक दुवै भूमिकामा काम गर्दै आएको छु। गंगालाल अस्पतालमा लामो समय कार्डियाक सर्जनको रूपमा काम गरेर चार वर्ष कार्यकारी निर्देशकको भूमिकामा पनि रहें। यसले मलाई दुवै पक्षको अनुभव प्रदान गरेको छ, र आज मलाई लाग्दैन कि यी दुई भूमिकामा खासै भिन्नता छ। यो केवल कामको भारअनुसारको सन्तुलन हो, जुन समयसँगै आफैं सिक्दै गइन्छ।
सर्वव्यापी स्वास्थ्य पहुँचलाई कसरी व्याख्या गर्नुहुन्छ ?
सर्वव्यापी स्वास्थ्य पहुँच, जसलाई हामी युनिभर्सल हेल्थ कभरेज भन्छौं, एक जटिल विषय हो। यसका तीनवटा मुख्य पक्षहरू छन्: स्वास्थ्य सेवामा पहुँच, गुणस्तरीय सेवा, र आर्थिक भार। यी तीनै पक्षलाई सन्तुलनमा राख्न सके मात्र सर्वव्यापी स्वास्थ्यको लक्ष्य पूरा हुन्छ।
कार्डियाक सर्जरी जस्तो विशिष्टीकृत सेवा नेपालमा भर्खरै २०-२२ वर्षदेखि मात्र स्थापित भएको छ। यस्ता सेवाहरू निजी क्षेत्रले मात्र नेतृत्व गरेर हुँदैन, यसमा नेपाल सरकारको लगानी र नेतृत्व अपरिहार्य छ। गंगालालको निर्देशक हुँदा हामीले सातै प्रदेशमा कार्डियाक सेवा विकेन्द्रीकरण गर्ने प्रयास गरेका थियौं। जनकपुर र नेपालगन्जमा सहकार्य गरेर सेवा विस्तार पनि गर्यौं। तर, यस्ता प्रयासहरूलाई सरकारले अझ बढी प्राथमिकता दिनुपर्छ।
नेपालको संविधान २०७२ को धारा ३५ ले प्रत्येक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा र आकस्मिक सेवाबाट वञ्चित नगरिने कुरा सुनिश्चित गरेको छ। तर, के आज जनताले त्यो सेवा साँच्चै पाएका छन्? यो नै सबैभन्दा महत्वपूर्ण प्रश्न हो। कार्डियाक सर्जरी डडेल्धुरामा नै हुनुपर्छ भन्ने होइन, तर कम्तीमा प्रत्येक आमाले सुरक्षित रूपमा स्वास्थ्य चौकीमा बच्चा जन्माउन पाऊन् भन्ने कुरा नै सर्वव्यापी स्वास्थ्यको आधारभूत पक्ष हो।
नेपालले सन् २०३० सम्ममा स्वास्थ्य कभरेज १००% पुर्याउने प्रतिबद्धता जनाएको छ, तर हाल हामी ५७% मा मात्र छौं। अबको ५ वर्षमा यो लक्ष्य पूरा गर्न असम्भवप्रायः छ। यसको प्रमुख कारणमध्ये एक नेपालमा स्वास्थ्यमा व्यक्तिगत खर्च विश्वमै सबैभन्दा उच्च हुनु हो, जुन करिब ५४% छ। यसलाई २०३० सम्ममा ३५% मा झार्ने लक्ष्य छ, तर व्यवहारमा भने कार्यान्वयन भएको छैन।
अस्पतालको स्तर कस्तो हुनुपर्छ ?
पूर्वाधार होइन, मानव स्वास्थ्यको गुणस्तर सुध्रिन महत्वपूर्ण छ । चिटिक्क परेका अस्पताल भवन र भेन्टिलेटर राख्दैमा जनताले स्वास्थ्य सेवा पाउँदैनन्। सेवा दिनको लागि दक्ष जनशक्ती चाहिन्छ, जसलाई गाउँ-गाउँमा टिकाउन आवश्यक प्रोत्साहन र सुविधा दिनुपर्छ। वर्षौंदेखि दरबन्दी नबढ्दा दक्ष जनशक्ति गाउँमा पुग्न सकेका छैनन्। यदि हामीले साँच्चै परिवर्तन चाहेका हौं भने, तपाईं-हामी जस्ता दक्ष व्यक्तिहरू आफ्नो गाउँ फर्किएर सेवा दिन तयार हुनुपर्छ। मैले कार्डियाक सर्जरी गरेर काठमाडौंमा बसें, तर कसै न कसैले त गाउँ गएर काम गर्नैपर्छ। तब मात्र सर्वसुलभ र सर्वव्यापी स्वास्थ्य सेवाले सार्थकता पाउँछ।
सेवा पाउनु मात्र ठूलो कुरा होइन, गुणस्तरीय सेवा पाउनु झनै महत्वपूर्ण छ। सन् २०१८ मा ‘ल्यान्सेट’ जर्नलमा प्रकाशित एक अध्ययनअनुसार, सेवा नपाएर भन्दा गुणस्तरहीन सेवा पाएर धेरै मानिसको मृत्यु हुन्छ। विश्वका १३९ देशमा गरिएको सर्वेक्षणले देखाएको छ कि ५० लाख मानिसको मृत्यु गुणस्तरहीन सेवाका कारण भएको छ। त्यसैले, सेवाको पहुँच विस्तारसँगै गुणस्तरमा पनि उत्तिकै ध्यान दिनु आवश्यक छ।
गुणस्तरीय स्वास्थ्य सेवा महँगो हुन्छ, र यसको लागि कसै न कसैले तिर्नैपर्छ। सरकारी अस्पतालमा सरकारले तिर्छ, निजीमा बिरामी आफैंले। तर, निजी अस्पतालहरूलाई नाफामुखी मात्रै भनेर पन्छिन मिल्दैन, किनभने निजी क्षेत्रले पनि देशको स्वास्थ्य प्रणालीमा लगानी गरिरहेको छ। आज निजी क्षेत्रले ७०% सेवा प्रदान नगर्ने हो भने नेपालको स्वास्थ्य क्षेत्र नै धराशायी हुन्छ।
त्यसैले, सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्छ। अस्पतालहरूको गुणस्तरअनुसार ग्रेडिङ गरेर सेवा शुल्क तोक्नुपर्छ। हामी त्यो शुल्कमा काम गर्न तयार छौं। सरकारले लगानीलाई खर्चको रूपमा होइन, लगानीको रूपमा बुझ्नुपर्छ। स्वास्थ्यमा गरिएको लगानीले स्वस्थ जनशक्ति उत्पादन गर्छ, जसले देशको अर्थतन्त्रमा नै योगदान पुर्याउँछ।
–हुलाक सञ्चारको चौथो वार्षिकोत्सवमा आयोजित हुलाक पथ ‘सर्वसुलभ स्वास्थ्यः अवसर र समाधान ‘विषयको विचार विमर्शमा प्रस्तुत गरेको विचारको सम्पादित अंश