सांसद सुमना श्रेष्ठको विद्यार्थी र अभिभावकलाई सन्देश– ‘एसईईको ग्रेड सामाजिक सञ्जालमा नराख्नुहोस्’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक हुने दिन विद्यार्थी र अभिभावकहरूलाई विशेष सन्देश दिएकी छन्।

सामाजिक सञ्जालमार्फत भिडिओ सन्देश जारी गर्दै उनले अभिभावकहरूलाई आफ्ना छोराछोरीको ग्रेड सामाजिक सञ्जालमा पोस्ट नगर्न र विद्यार्थीहरूलाई नतिजा जस्तोसुकै आए पनि धेरै तनाव नलिन आग्रह गरिन्।

उनले भिडिओको सुरुमा एसईईको नतिजाको प्रतीक्षामा रहेका सबैलाई शुभकामना दिएकी छन्।

सांसद श्रेष्ठले अभिभावकहरूलाई बधाई दिँदै आफ्ना छोराछोरीको नतिजा सामाजिक सञ्जालमा पोस्ट नगर्न विशेष अनुरोध गरिन्। उनले भनिन् ‘मेरो बच्चाको यति आयो, उति आयो भनेर सामाजिक सञ्जालमा नपोष्ट्याइदिनुहोला। मैले अनुरोध गरें। यसले अस्वस्थ प्रतिस्पर्धा निम्त्याउँछ।’

एसईई दिएर बसेका विद्यार्थीहरूलाई सम्बोधन गर्दै श्रेष्ठले नतिजा सोचेअनुरूप नआए पनि धेरै चिन्ता नलिन आग्रह गरिन् । ‘यो अन्तिम परीक्षा त होइन,’ उनले भनिन्, ‘पहिले–पहिलेको एसएलसी जस्तो ‘द्याट्स इट’ भनेजस्तो पनि होइन। अहिले १२ कक्षासम्म विद्यालय शिक्षा हो।’

उनले विद्यार्थीको क्षमता लिखित परीक्षाले मात्र निर्धारण नगर्ने बताइन्, ‘यो एउटा परीक्षा मात्रै हो। यसले मात्रै तपाईंको के–के कुरामा खुबी छ भनेर निर्धारण गर्दैन।’

नतिजाका कारण तनाव हुनु स्वाभाविक भएको बताउँदै उनले तनाव व्यवस्थापनका लागि केही उपायहरू पनि सुझाएकी छन् ।

आफू एक्लो छु भनेर नसोच्न, गहिरो श्वास लिन, डायरी लेख्न, आफूलाई विश्वास लाग्ने मानिससँग कुरा गर्न उनले सुझाव दिएकी छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१