
काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय तहका शिक्षकको छनोटमा महत्वपूर्ण निर्णय गरेको छ । अब शिक्षा संकायबाट मात्र नभई अन्य विषयमा स्नातक वा स्नातकोत्तर गरेका व्यक्तिहरुले पनि विद्यालय तहमा अध्यापन गर्न पाउने बाटो खुल्ने भएको छ ।
तर शिक्षक बन्न चाहनेलाई शिक्षक सेवा आयोगको लाइसेन्स परीक्षा भने अनिवार्य पारिएको छ । लाइसेन्स प्राप्तले शिक्षाशास्त्र संकाय बाहेकका विषय पढेका भए उनीहरुले अध्यापन सुरु गर्नुअघि कम्तीमा एक महिनाको शिक्षण विधि तालिम लिनुपर्ने व्यवस्था गरिएको छ । उक्त तालिम प्रदेश सरकारअन्तर्गतको शिक्षक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्नेछ ।
यससँगै परम्परागत धारमा सञ्चालन हुँदै आएका विद्यालयमा अनिवार्य विषयबाहेक अन्य विषय पढाउने शिक्षकले अनुमतिपत्र नभए पनि अध्यापन गर्न पाउने प्रावधान पनि पारित भएको छ ।