माधव नेपालविरुद्ध बोल्दा रामकुमारीसँग मागियो स्पष्टीकरण

नेकपा (एकीकृत समाजवादी) पार्टीले नेतृ रामकुमारी झाँक्रीलाई अध्यक्ष माधवकुमार नेपालविरुद्ध दिएको विवादास्पद अभिव्यक्तिका कारण स्पष्टीकरण मागेको छ। पार्टीको अनुशासन आयोगले झाँक्रीको सार्वजनिक अभिव्यक्तिको बारेमा औपचारिक रूपमा कारण सोधेको हो। आयोगले उनको जवाफका आधारमा थप छलफल गरी आवश्यक निर्णय लिने जनाएको छ। सचिव सोमप्रसाद पाण्डेका अनुसार बिहीबार बस्ने सचिवालय बैठकमा झाँक्रीको अभिव्यक्ति र यसले पार्टीमा पारेको असरबारे छलफल हुनेछ।

झाँक्रीले हालै पार्टीको भ्रातृ संगठन युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलामा अध्यक्ष नेपालविरुद्ध ‘काँधमा मरेको सिनो बोकेर हिँड्न नसकिने’ अभिव्यक्ति दिएकी थिइन्। उनले अध्यक्षमाथि भ्रष्टाचारको मुद्दा चलिरहेको अवस्थामा नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिनुपर्ने धारणा राखेकी थिइन्। उक्त अभिव्यक्तिप्रति पार्टीका धेरै नेताहरूले आपत्ति जनाएका छन्।

त्यसैगरी, झाँक्री जिम्मेवार रहेको विद्यार्थी संगठन अनेरास्ववियुमा पनि विवाद उत्पन्न भएको छ। अध्यक्ष महेश श्रेष्ठको विरोधमा नरेश न्यौपानेको नेतृत्वमा समानान्तर कमिटी गठन भएपछि संगठनमा द्वन्द्व थपिएको छ। श्रेष्ठ अध्यक्ष नेपालनिकट मानिन्छन् भने न्यौपाने झलनाथ खनाल र घनश्याम भुसाल पक्षधरको रूपमा चिनिन्छन्।

वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पनि पार्टीभित्रको संकट र झाँक्रीको अभिव्यक्तिबारे सचिवालय बैठकमा विस्तृत छलफल हुने जानकारी दिएका छन्। साथै, उनले माधव नेपालको संसद पद निलम्बनमा परेकाले अब दलको नेतामा वरिष्ठ उपाध्यक्ष तथा उपनेता रहने विकल्प मात्रै बाँकी रहेको बताएका छन्। पाण्डेले झाँक्रीमाथि अनुशासनको कारबाही आवश्यक भएको पनि स्पष्ट पारे। उनका अनुसार राजनीतिक कार्यकर्ताको बोली जिम्मेवार र मर्यादित हुनुपर्ने हो।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१