• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

पूर्व राष्ट्रपति भेटको हल्ला भ्रामक, एमालेसँग कुनै सहकार्य होइन : माओवादी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले हालै केही सञ्चारमाध्यमहरूमा आएको “वाम एकता” सम्बन्धी समाचारप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै एमालेसँग कुनै पनि प्रकारको वाम एकता सम्भव नरहेको स्पष्ट पारेको छ।

प्रेस विज्ञप्ति मार्फत माओवादी केन्द्रले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच भएको भेटवार्तालाई तोडमोड गरी प्रस्तुत गरिएको भन्दै आपत्ति जनाएको छ। सो भेटलाई एमालेसँग वाम एकताको प्रस्तावसँग जोडिएको बताइएकोमा पार्टीले ती भनाइ पूर्णतः तथ्यहीन र भ्रमपूर्ण भएको दाबी गरेको छ।

“एमालेसँग एकता गर्ने नीति र सोच हाम्रो पार्टीको छैन,” प्रेस विज्ञप्तिमा भनिएको छ, “पूर्वराष्ट्रपति भण्डारीसँग भेटघाटको विषयमा पार्टीलाई कुनै जानकारी छैन।”

प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नि सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “देशका अन्य वामपन्थी शक्तिहरू सँग केही तहमा संवाद भए पनि एमालेसँग एकताको कुनै औपचारिक वा अनौपचारिक छलफल भएको छैन।”