• २०८३ असार ४
  • 2026 June 18, Thursday

ओलीको अनौठो तर्क : भगवान् शिव चाम्लिङ थिए होला, हलेसी शिव खेल्ने ओढार !

काठमाडौं — पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भगवान् शिवका बारेमा चकित पार्ने तर्क प्रस्तुत गरेका छन्। सोमबार काठमाडौंमा आयोजित एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागको कार्यक्रममा सम्बोधन गर्दै उनले शिवजी चाम्लिङ (किरात राईको एक थर) हुनसक्ने दाबी गरे।

ओलीका अनुसार खोटाङस्थित प्रसिद्ध हलेसी महादेव मन्दिर रहेको क्षेत्र चाम्लिङहरूको उद्गम थलो हो। उनले भने, “शिवजीले खेलेका ओढारहरूलाई अहिले हामी हलेसी भन्छौं। शिवजी चाम्लिङ थिए कि जस्तो लाग्छ कहिलेकाहीँ।”

यद्यपि उनले यो कुरा निश्चित हैन, अनुमान मात्रै भएको स्पष्ट पारे। “म दाबी त गर्दिनँ, अनुमान मात्रै हो,” भन्दै उनले माइग्रेशनक्रममा विभिन्न जातीय मिश्रण हुन सक्ने पनि औंल्याए।

ओलीले यसअघि वेदव्यास, कपिलमुनी, गौतम बुद्ध र भगवान् रामसमेत नेपालमै जन्मिएको दाबी गरेका थिए। भगवान् रामको जन्मस्थान भारतको अयोध्या नभई चितवनको ठोरी भएको भन्ने उनको भनाइले पनि विवाद निम्त्याएको थियो।