
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले पछिल्लो दुई आर्थिक वर्षमा १५ लाखभन्दा बढी नेपाली बेरोजगार सूचीमा सूचीकृत भएको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा सांसद प्रेम सुवालले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले दुई वर्षमा १५ लाख ४२ हजार श्रमिकहरू बेरोजगार सूचीमा सूचीकृत भएको बताएका हुन् ।
रोजगारीको हक सम्बन्धी नियमावली, २०७६ को प्रावधानबमोजिम आर्थिक वर्ष २०८१/८२ का लागि ७ लाख ९७ हजार ७२५ जना र आर्थिक वर्ष २०८२/८३ का लागि ७ लाख ४५ हजार ४३५ जनाले बेरोजगार सूचीमा नाम दर्ता गराएको मन्त्री भण्डारीले बताए । दुई आर्थिक वर्षमा १५ लाख ४३ हजार १६० श्रमिक बेरोजगारको सूचीमा सूचीकृत भएका हुन् ।
सांसद सुवालले देशमा सूचीकृत बेरोजगारको सङ्ख्या, उनीहरूलाई स्वदेशमा रोजगारी दिने योजना, वैदेशिक रोजगारीमा गएका नेपालीको सङ्ख्या र मृत्युको तथ्याङ्कबारे प्रश्न सोधेका थिए ।
त्यसको जवाफमा मन्त्री भण्डारीले सरकारले बेरोजगारलाई रोजगारी दिन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आर्थिक वर्ष २०८१/०८२ मा ६० हजारलाई रोजगारी दिने लक्ष्यसहित बजेट विनियोजन गरिएको बताए । सरकारले आगामी दशकलाई ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ का रूपमा मनाउने घोषणा गरी स्वदेशमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेको बताए ।
मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ६७ लाख २ हजार १८४ नाघेको जानकारी दिँदै यस क्रममा १४ हजार ४५६ जनाले विभिन्न कारणले विदेशमा ज्यान गुमाएको बताए ।
भारतसँगको खुला सिमाना र श्रम स्वीकृति अनिवार्य नभएकाले भारतमा काम गर्ने नेपालीको यकिन तथ्याङ्क मन्त्रालयसँग नभएको बताए । अब कानुन संशोधन गरेर त्यसलाई व्यवस्थित गर्नेबारे छलफल भइरहेको उनको भनाइ छ ।
मन्त्री भण्डारीले आन्तरिक रोजगारीलाई प्राथमिकता दिन मन्त्रालयमा ‘आन्तरिक रोजगार व्यवस्थापन महाशाखा’ नै गठन गरिएको बताउँदै सरकारको मुख्य लक्ष्य ‘बाध्यात्मक वैदेशिक रोजगारी’ को अन्त्य गर्नु रहेको बताए ।