काठमाडौं । नेपाल राष्ट्र बैंकले घर कर्जाको सीमा बढाएको छ। अब नयाँ घर बनाउँदा वा किन्दा बैंकबाट ३ करोड रुपैयाँसम्म कर्जा लिन सकिनेछ। यसअघि उक्त सीमा २ करोड रुपैयाँ मात्र थियो।
शुक्रबार आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले घर कर्जासम्बन्धी यो नयाँ व्यवस्था ल्याइएको जानकारी दिए।
गभर्नर पौडेलका अनुसार नयाँ घर निर्माणका लागि अब मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन पाइनेछ भने अन्य प्रकारका घर खरिदमा ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराइनेछ।
यस कदमले निर्माण क्षेत्रलाई गति दिने र आम नागरिकको आफ्नै घर हुने सपना पुरा गर्न थप सहज हुने अपेक्षा गरिएको छ।
राष्ट्र बैंकले लचिलो कर्जानीति अवलम्बन गरेर आर्थिक गतिविधिमा सक्रियता ल्याउने उद्देश्यसहित यस्तो निर्णय गरेको बताइएको छ।