• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

कम्पनी रजिष्ट्रारको घुस डिल प्रकरण संसद् छलफलको विषय

काठमाडौँ। कम्पनी रजिष्ट्रारमा ‘सिस्टम डाउन’ गराएर घुस डिल भएको विषय संसद्‌मा उठेको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा यो विषय उठेको हो ।

नेकपा एकीकृत समाजवादीका सांसद घनश्याम रिजालले कम्पनी रजिष्ट्रारको कार्यालयमा भएको घुस डिल प्रकरणबारे सरकारको ध्यानाकर्षण गरेका छन्।

यो विषय गम्भीर रहेको भनेर उनले आपत्ति जनाए । ‘कम्पनी दर्ता गर्दा घुस खुवाउनुपर्ने भएपछि जनताले किन र कसरी व्यवसाय गर्छन्, कसरी लगानीको वातावरण बन्छ र युवा किन देशमा बस्छन ?’ रिजालको प्रश्न छ ।

कम्पनी रजिष्ट्रारमा ‘सिस्टम डाउन’ गराएर घुस डिल, चुक्ता पुँजीको ०.३ प्रतिशत बुझाएपछि दर्ता प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै नेतृत्वमा सुशासन आयोग गठन गरेको स्मरण गर्दै रिजालले भने, ‘तर, सिंहदरवारको एक किलोमिटर दुरीमा रहेको त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रार कार्यालयमा सर्भर डाउनको नाममा सरकारको सुशासन र सिस्टम डाउन भएको छ ।’

यो विषय छानबिन गर्न उनको माग छ । उनले भनेका छन्, ‘म तुरुन्त छानबिन र कारबाहीको लागि सम्माननीय अध्यक्षज्युमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु ।’