• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

पूर्वप्रधानमन्त्री खनालको बेइजिङमा सम्बोधन– हाम्रो सम्बन्ध सगरमाथा जस्तै अग्लो, स्थिर र अटल बनाउन चाहन्छौं

बेइजिङ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले चीनको बेइजिङमा आयोजित विश्व सभ्यता संवादमा प्रमुख वक्ताको रूपमा सम्बोधन गरेका छन्।

‘मानव सभ्यताको विविधताको रक्षा गर्दै विश्व शान्ति र विकास प्रवर्द्धन’ शीर्षकको सत्रमा सम्बोधन गर्दै नेता खनालले सभ्यताहरूबीच सम्मान, संवाद र सहकार्य अपरिहार्य रहेको बताए। उनले सभ्यताको नाममा प्रभुत्व थोपर्ने पश्चिमी सोचको आलोचना गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि सारेको ग्लोबल सिविलाइजेशन इनिसेटिभको खुलेर प्रशंसा गरे।

खनालले सभ्यताको पुरानो थलो नेपाल र चीनबीचको ऐतिहासिक, सांस्कृतिक र जनस्तरको सम्बन्धलाई स्मरण गर्दै बुद्ध, भृकुटी र अरनिको जस्ता ऐतिहासिक पात्रहरूको योगदानको चर्चा गरे।

बिहीबार साँझ खनालले चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुख लिउ जियानचाओसँग भेटवार्ता गरेका थिए। भेटमा दुई पार्टी तथा दुई देशबीचको सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको थियो।

विश्व सभ्यता संवादमा करिब १४० देशका ६०० प्रतिनिधिहरू सहभागी थिए। खनालले शुक्रबार छैठौँ सत्रलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ। भ्रमण सकेर उनले चाँडै स्वदेश फर्कने जनाइएको छ।