• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

काठमाडौं महानगरको २५ अर्ब ११ करोड रुपैयाँ बजेट सिमा निर्धारण

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब २५ अर्ब ११ करोड रुपैयाँको बजेट सीमा प्रस्ताव गरेको छ। शुक्रबार मेयर बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा काठमाडौं प्लाजामा बसेको राजश्व परामर्श समितिको बैठकले उक्त बजेट सीमा तय गरेको हो।

बैठकमा प्रमुख शाहले जनताको अपेक्षा अनुसार ठोस काम देखिने गरी बजेट विनियोजन गर्न निर्देशन दिएका थिए। विशेष गरी पूर्वाधार विकासका योजनामा बजेट बढाउने निर्णय समितिबाट गरिएको छ। चालु आर्थिक वर्षको तुलनामा आगामी वर्ष पूर्वाधार निर्माणमा थप रकम छुट्याउने भनिएको छ।

महानगरले अब बजेट तयारीलाई अन्तिम रुप दिँदैछ। शुक्रबार (असार २८) बस्ने ४० औं नगरकार्यपालिका बैठकले नगरसभाको मिति तय गर्नेछ, जहाँ औपचारिक रूपमा नीति, कार्यक्रम र बजेट सार्वजनिक गरिनेछ।

नगरसभामा मेयर बालेनले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् भने उपमेयर सुनिता डंगोलले बजेट प्रस्ताव पेश गर्नेछिन्।

बैठकमा राजश्व परामर्श समितिका संयोजक, सदस्य, सदस्य सचिव तथा विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो।

महानगर स्रोतका अनुसार, यो बजेटले सडक, ढल, सार्वजनिक यातायात, खुला स्थान, शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिने गरी लगानी गर्ने तयारी गरिएको छ। बालेन नेतृत्वको महानगरले बजेट नतिजामुखी हुने संकेतसमेत दिएको छ।

अब सबैको ध्यान नगरसभामा सार्वजनिक हुने विस्तृत नीति तथा कार्यक्रममा केन्द्रित छ।