
काठमाडौं । काठमाडौं महानगरपालिकाको ४० औं नगरकार्यपालिका बैठक आज बस्दै छ। बैठकले नगरसभाको मिति तोक्ने र त्यसमार्फत आगामी आर्थिक वर्ष २०८२र८३ का लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गर्ने तयारी गरेको छ।
नगरसभामा मेयर बालेन्द्र शाह (बालेन) ले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् भने उपमेयर सुनिता डंगोलले बजेट प्रस्ताव पेश गर्नेछन्। यसअघि सम्पन्न राजश्व परामर्श समिति बैठकले करिब २५ अर्ब ११ करोड रुपैयाँको बजेट सीमा निर्धारण गरिसकेको छ।
शुक्रबारको नगरकार्यपालिका बैठक काठमाडौं प्लाजामा बस्नेछ, जहाँ नगरसभा आह्वान सम्बन्धी प्रस्ताव पारित गरिनेछ। त्यसपछि केही दिनभित्र बजेट सार्वजनिक गरिने बताइएको छ।
बैठकमा राजश्व परामर्श समितिका संयोजक, सदस्य सचिव, सदस्यहरू र विभिन्न विभागीय प्रमुखहरू उपस्थित रहनेछन्। बैठकले नीति निर्माणदेखि बजेट कार्यान्वयनसम्मको रूपरेखा स्पष्ट पार्ने अपेक्षा गरिएको छ।
महानगर स्रोतका अनुसार, आगामी वर्षको बजेटले विशेषगरी पूर्वाधार विकास, सार्वजनिक सेवा सुधार र नतिजामुखी कार्यक्रमहरूमा जोड दिनेछ। काठमाडौंवासीको जीवनशैलीमा प्रत्यक्ष प्रभाव पार्ने योजनाहरूलाई प्राथमिकता दिइने संकेत बैठकबाट प्राप्त भएको छ।