काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नी दिवंगत श्रीमती सीता दाहालको दोस्रो स्मृति दिवसका दिन मानव सेवा आश्रम काठमाडौँको रानीवन सेवा केन्द्रमा पुगेर जीवनसाथी दाहाललाई स्मरण गरेका छन् ।
उनले पत्नी सीताको स्मृतिलाई दिगो राख्न र सबैलाई यस्तो कार्यले प्रेरणा मिलोस् भन्ने उद्देश्यले आश्रममा आश्रितहरूका साथमा यस दिनलाई समर्पण गरेको बताए । स्मृति दिवसको दिन आश्रममा आश्रित २५० सहयोगापेक्षी सडक आश्रित मानवहरूका लागि खाद्यान्न सामग्री र रु. एक लाख नगद योगदान गरेका छन् ।
साथै, आश्रममा रहेकाहरूलाई आफ्नै हातले भोजन वितरण गरेका थिए । सो अवसरमा उनले आफू प्रधानमन्त्री छँदा हेटौँडास्थित मानव सेवा आश्रमको मुख्यालय उद्घाटन गरेको सन्दर्भ स्मरण गर्दै सरकारले गर्नुपर्ने काम मानव सेवा आश्रमले गरिरहेको बताए । मानव सेवा आश्रमको मानवता प्रवर्द्धनका कार्यले अन्तर्राष्ट्रिय जगतमा समेत चर्चा चुलिँदै गएको उनले बताए ।
पूर्व प्रधानमन्त्री दाहालले आफू सरकारमा छँदा सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्धार र मानवीय सेवाका लागि सात वटै प्रदेशका लागि सात वटा गाडी उपलब्ध गराउन मन्त्रिपरिषदबाटै निर्णय गरेर प्रक्रिया अघि बढाएको भए पनि अझैसम्म त्यसको कार्यान्वयन नभएकामा चिन्ता व्यक्त गर्दै यसका लागि पहल गर्ने आश्वासन दिए ।