• २०८३ असार ४
  • 2026 June 18, Thursday

राप्रपामा झगडा, लिङ्देनविरुद्ध राणाको बैठक !

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी प्रवक्ता सगुनसुन्दर लावतीलाई पदबाट हटाएपछि आन्तरिक विवाद चुलिएको छ। लिङ्देनको निर्णयप्रति असहमति जनाउँदै पार्टीभित्रको संस्थापनइतर समूह विरोधमा उत्रिएको हो।

शनिबार टंगालस्थित महामन्त्री डा. धवलशमशेर राणाको सचिवालयमा संस्थापनइतर नेताहरूको बैठक बसेको छ। बैठकमा १० जना पदाधिकारीसहित ५० जना केन्द्रीय सदस्य सहभागी भएको बताइएको छ। सहभागी नेताहरूका अनुसार लावतीलाई प्रवक्ताबाट हटाउने निर्णय पार्टीको विधानविपरीत भएको निष्कर्ष निकालिएको छ।

बैठकले अध्यक्ष लिङ्देनको उक्त निर्णयप्रति असहमति जनाउँदै निर्वाचन आयोगमा उजुरी दिने तयारी गरेको छ। प्रवक्ता पदबाट हटाइएका लावतीले आफ्नो पद हटाइएकामा असन्तोष व्यक्त गरेका छन्।

अध्यक्ष लिङ्देनले केहि दिनअघि पार्टीको अनुशासन समितिमा रोशन कार्कीलाई नियुक्त गरेका थिए भने सगुन लावतीलाई प्रवक्ताबाट हटाएका थिए । यसअघि अनुशासन समितिको अध्यक्षमा नवराज सुवेदी रहेका थिए । सुवेदी हाल राजसंस्था फर्काउने जनान्दोलन समितिको संयोजक रहेका छन् ।