• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

शिक्षक महासंघले आन्दोलनको तयारी पूरा, सरकारसँग नयाँ वार्ता प्रस्ताव

काठमाडौँ । नेपाल शिक्षक महासंघले फेरि आन्दोलनको चेतावनी दिएको छ। महासंघले सोमबार विज्ञप्ति जारी गरी विगतका भएका सहमतिअनुसार विद्यालय शिक्षा विधेयकमा शिक्षक-कर्मचारीमैत्री प्रावधान समावेश गर्न राज्य पक्ष गम्भीर र जिम्मेवार नदेखिएको भन्दै आन्दोलनको चेतावनी दिएको हो।

विद्यालय शिक्षा विधेयकमाथि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा चलिरहेका छलफल र निर्णयबाट विगतका सहमतिहरूलाई बङ्ग्याउने, तोडमोड गर्ने तथा आम शिक्षक-कर्मचारीको भावना, शिक्षण पेसाको मर्यादा र सबलीकरण विपरीतका प्रबन्ध अघि बढाउने प्रयत्न भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

विद्यालय, विद्यार्थी, शिक्षक-कर्मचारी मैत्री अग्रगामी शिक्षा ऐन जारी हुने सम्भावना क्रमशस् कमजोर हुँदै गएको निष्कर्षमा महासंघ पुगेको भन्दै नयाँ र कडा आन्दोलनको मोडमा पुगेको अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

महासंघले विद्यालय, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै चैत २० गतेदेखि काठमाडौँ केन्द्रित २९ दिन शैक्षिक सडक आन्दोलन गरेको थियो। आन्दोलनपछि सरकारसँग भएको सहमतिमा असार १५ सम्ममा विधेयक ल्याइसक्नुपर्ने भनिएको थियो। तर समय सीमाभित्र ऐन जारी नभएपछि महासंघले आन्दोलनको चेतावनी दिएको हो ।