• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

एनआरएनए जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठको उम्मेदवारी: पारदर्शिता, निष्पक्षता र जनसेवा मुख्य एजेन्डा

जापान । गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल २०२५–२०२७ का लागि अध्यक्ष पदमा सिद्धार्थ श्रेष्ठले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। विगत १७ वर्षदेखि जापानमा स्थायी बसोबास गर्दै सामाजिक सेवामा निरन्तर सक्रिय रहेका श्रेष्ठले संस्थामा पारदर्शिता, उत्तरदायित्व र प्रभावकारी नेतृत्वलाई प्रमुख एजेन्डा बनाउँदै उम्मेदवारी घोषणा गरेका हुन्।

श्रेष्ठ गैरआवासीय नेपाली संघ जापानमा लामो समयदेखि विभिन्न तहमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका अनुभवी अभियन्ता हुन्। उनले महासचिव, प्रवक्ता, सल्लाहकार हुँदै हाल उपाध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आएका छन्। साथै, श्रेष्ठ बागलुङ समाज जापानका अध्यक्षसमेत भइसकेका सामाजिक अभियन्ता हुन्।

उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले भने, “संस्थालाई पारदर्शी, उत्तरदायी र जनमुखी बनाउने मेरो संकल्प अब अध्यक्ष पदको नेतृत्वबाट अझ प्रभावकारी रूपमा अघि बढ्नेछ।” उनले “नेपालीका दुःखमा पहिलो सहारा” भन्ने मूल नाराका साथ चुनावी मैदानमा उत्रिएको जनाएका छन्।

श्रेष्ठले संस्थाभित्र देखा परेका अस्वस्थ प्रवृत्तिहरू विरुद्ध सधैं स्पष्ट आवाज उठाउँदै आएका छन्। उनले उम्मेदवारी प्रतिस्पर्धाका लागि नभई समुदायको सेवा गर्ने दृढ इच्छाशक्तिका साथ दिएको बताएका छन्। “अग्रजलाई सम्मान, युवालाई प्रोत्साहन” भन्ने भावना बोकेका श्रेष्ठले सबैलाई समेट्ने, अपनत्व र अभिभावकत्वसहितको समाज निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

क्षेत्र र केन्द्र, नेपालीपन र भावनालाई जोड्दै समन्वय गर्दै अघि बढ्ने बताएका श्रेष्ठले जापानवासी सम्पूर्ण नेपालीहरूमा सहयोगको अपील समेत गरेका छन्।

श्रेष्ठको उम्मेदवारीले एनआरएनए जापानमा पारदर्शी, सबल र समावेशी नेतृत्वको आशा झनै बढाएको छ।