वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका नाममा विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूले आकर्षक तलबको प्रलोभन देखाउँदै लाखौं रुपैयाँ असुली सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा बारा निजगढ नगरपालिका–१२ घर भई भक्तपुर मध्यपुरथिमी नगरपालिका–३ बस्ने ४० वर्षीय रामबहादुर थिङ, चितवन राप्ती नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१४ बस्ने ५३ वर्षीय प्रेमकृष्ण श्रेष्ठ, सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका–४ घर भई काठमाडौं महानगरपालिका–२६ बस्ने ३० वर्षीय सबिक राई, ललितपुर महानगरपालिका–३ घर भई काठमाडौं टोखा नगरपालिका–३ बस्ने ४४ वर्षीय मनोज महर्जन र काठमाडौं महानगरपालिका–९ बस्ने २३ वर्षीया दिप्ती केसी रहेका छन्।

प्रहरीका अनुसार रामबहादुरले मलेसिया पठाइदिने भन्दै एक जनाबाट ३ लाख ९९ हजार रुपैयाँ, प्रेमकृष्णले क्रोएसिया पठाइदिने भन्दै एक जनाबाट ८ लाख रुपैयाँ, सबिकले कतार पठाइदिने भन्दै १० जनाबाट ३ लाख ५० हजार रुपैयाँ, मनोजले क्यानडा पठाइदिने भन्दै १० जनाबाट १ करोड ३४ लाख २५ हजार रुपैयाँ, र दिप्तीले न्यूजिल्याण्ड पठाइदिने भन्दै एक जनाबाट १३ लाख रुपैयाँ ठगी गरेका थिए।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले क्रमशः आइतबार र सोमबार काठमाडौं र भक्तपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१