• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

माओवादीले छापामार रणनीति अपनाउने

काठमाडौं। भारतमा प्रतिबन्धित कम्युनिस्ट पार्टी अफ इण्डिया (माओवादी) ले पछिल्ला सुरक्षा अभियानहरूबाट ठूलो क्षति बेहोरेको स्वीकार गर्दै अब लचिलो छापामार युद्धको रणनीति अपनाउने घोषणा गरेको छ।

माओवादीहरूले आफ्ना कार्यकर्तामाझ २२ पृष्ठको दस्तावेज वितरण गर्दै नयाँ रणनीति स्पष्ट गरेका हुन्।

सिपिआइ (माओवादी) केन्द्रीय समितिद्वारा २०२५ जुन २३ मितिमा जारी गरिएको सो दस्तावेजमा विगत एक वर्षमा ३५७ माओवादी कार्यकर्ताको ज्यान गएको उल्लेख गरिएको छ, जसमा १३६ महिला रहेका छन्।

यो घोषणापछि भारतीय गृह मन्त्रालयले माओवादी विद्रोह अन्त्य गर्न सन् २०२६ भित्रको लक्ष्य तय गरेको पृष्ठभूमिमा माओवादी पक्षबाट आएको प्रतिक्रिया हो।

सुरक्षाबलका लागि सन् २०१० को दन्तेवाड़ा हमलाजस्तो ठूला क्षति पुर्‍याउने रणनीति बनाउने मुख्य योजनाकार मानिएका माओवादी महासचिव नाम्बाला केसव राव उर्फ बासवराजु मे २० मा छत्तीसगढको घना जंगलमा मारिएपछि संगठन थप दबाबमा परेको छ। उनको मृत्यु पछिल्लो केही वर्षयताकै सबैभन्दा ठूलो सफलता मानिएको छ।

सन् १९६७ मा पश्चिम बंगालको नक्सलबारीबाट सुरु भएको माओवादी आन्दोलन अहिले झारखण्ड, छत्तीसगढ, बिहार, ओडिशा, आन्ध्र प्रदेश र महाराष्ट्रका विभिन्न भागमा फैलिएको छ। भारत सरकारले यसलाई आन्तरिक सुरक्षाका लागि सबैभन्दा ठूलो चुनौती मानेको छ।

दस्तावेजमा भनिएको छ कि अहिलेको दमनकारी कारबाहीलाई जनस्तरबाटै प्रतिकार गर्न वर्गसंघर्षमार्फत आम जनतालाई गेरिला युद्धमा सक्रिय बनाउनुपर्ने आवश्यकता देखिएको छ। हाल माओवादी आन्दोलन कमजोर जस्तो देखिए पनि उनीहरूले आक्रमण गर्ने क्षमतालाई पूर्णरूपमा गुमाएका छैनन् भन्ने विश्लेषकहरूको भनाइ छ।