‘स्पेनमा मान्छे छोडिएको’ भन्ने आरोप फिर्ता लिइएको मन्त्री गुरुङको दाबी

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा भिजिट भिसामा मान्छेहरू छोडेर आएको आरोप लगाउने सांसदले नै आत्मालोचना गरिसकेको बताएका छन्।

सिंहदरवारमा पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले प्रधानमन्त्री ओलीसँग स्पेन भ्रमणमा गएका केही मानिसहरू नफर्किएको भन्ने आरोप निराधार रहेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले संसदमा प्रधानमन्त्रीसँगै गएका केही मानिसहरू प्रधानमन्त्रीले स्पेनमै छोडेर आएको आरोप लगाएकी थिइन्।

आरोप लगाएको भोलिपल्ट सभाको बैठकमा आफूले प्रधानमन्त्रीसँग गएका मानिसहरू नफर्किएको नभनेको बताएकी थिइन्। त्यसपछि लगातार यसबारेमा प्रश्न उठ्दै आएको छ।

यद्यपि सरकारले प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा भिजिट भिसामार्फत गएर नफर्किएका मानिसहरू हुनसक्ने भन्दै अनुसन्धान सुरु गरिसकेको छ। प्रधानमन्त्रीको नेतृत्वमा गएका सबै फर्किएको पनि सरकारको दाबी छ। सोही सम्बन्धमा सञ्चारकर्मीहरूले गरेका प्रश्नमा सञ्चार मन्त्री गुरुङले प्रधानमन्त्रीसँग कति जना जाने भन्ने आचारसंहिता नै रहेको र भ्रम फैलाइएकोमा सांसद स्वयंले आत्मालोचना गरिसकेको बताए ।

उनले भने, ‘संसदमा प्रश्न गर्नुभएको माननीयज्यूले एक खालको आत्मालोचना गर्नुभएको छ। मैले त्यसो भनेको होइन भनेको होइन भन्नुभएको छ। प्रधानमन्त्रीले लिएर गए र छोडेर आए भन्ने प्रश्न थियो। सम्माननीय प्रधानमन्त्रीज्यूको आचारसंहिता नै छ—कति जना लैजाने, के लैजाने भन्ने। राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री बाहिर जाँदा २१ जना भन्दा बढी नलैजाने भन्ने छ।’

मन्त्री गुरुङले स्पेन भ्रमणका क्रममा संयुक्त राष्ट्र संघको कार्यक्रममा सरकारी सूचीबाट बाहिर रहेर गएका तर नफर्किएकाहरूको बारेमा सरकारले अनुसन्धान गरिरहेको बताएका छन्। प्रधानमन्त्रीसँग गएको मान्छे छोडेर आएको कुरा ३२ सै आना गलत भएको बताए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१