
काठमाडौं । देशका विभिन्न जिल्लाबाट अवैध तथा नियन्त्रित लागूऔषधसहित १५ जना पक्राउ परेका छन्। प्रहरीले काठमाडौंदेखि झापा, मोरङ, सुर्खेत, धनकुटा, बर्दिया, मकवानपुर, सुनसरी लगायतका स्थानमा अपरेसन सञ्चालन गर्दै ठूलो परिमाणमा लागूऔषध बरामद गरेको हो।
काठमाडौं, चन्द्रागिरी नगरपालिका–११ सतुङ्गलबाट ट्रामाडोल १४५ ट्याब्लेट र नगद ८ हजार ५८५ रुपैयाँसहित पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मनिष खड्का, सुजन रुम्बा, रबिन तामाङ, बिक्रम साह शंकर र साजन राउत रहेका छन्। उनीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले पक्राउ गरेको हो।
मोरङ, सुनवर्षी नगरपालिका–९ डायनियाबाट खैरो हेरोइन जस्तो देखिने ६३ ग्राम लागूऔषधसहित भारतका दुई नागरिक सद्दाम हुसेन र शेर मोहमद पक्राउ परेका छन्। उनीहरू भारत नम्बर प्लेटको मोटरसाइकलमा सवार थिए।
धनकुटा, शहीदभूमी गाउँपालिका–६ सुकेआलबाट २५० मिलिग्राम लागूऔषधसहित सुवास राई पक्राउ परेका छन्।
बर्दिया, गुलरिया नगरपालिका–७ बाट ब्राउनसुगर जस्तो देखिने ११० मिलिग्राम पदार्थसहित नसिप मनिहार पक्राउ परेका छन्।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका–२ सानो पोखरा चोकस्थित चिया पसलबाट गाँजा ५० ग्राम र ट्रामाडोल १८८ ट्याब्लेटसहित सरस्वती मुक्तान, सुल्तान खान र एक १६ वर्षीय किशोर पक्राउ परेका छन्।
झापा, बिर्तामोड नगरपालिका–५ बाट ट्रामाडोल १ लाख ३ हजार ८ सय ट्याब्लेट, १८७० एम्पुल, ट्रामाडोल एण्ड एसिटामिनोफेन ४०५० ट्याब्लेट र डाइक्लोमाइन ९७ हजार ट्याब्लेटसहित बिनोद घिमिरे पक्राउ परेका छन्। कोठा भाडामा लिएर लागूऔषध भण्डारण गरेको आरोपमा फरार रहेका भानुभक्त खरेलको खोजी भइरहेको छ।
सुर्खेत, भेरीगंगा नगरपालिका–१२ छिन्चु बजारबाट ब्राउनसुगर जस्तो देखिने ३।९२ ग्राम लागूऔषधसहित कृष्ण बहादुर कार्की पक्राउ परेका छन्।
सुनसरी, कोशी गाउँपालिका–१ भन्सार रोडबाट खैरो हेरोइन जस्तो देखिने १ ग्राम लागूऔषधसहित प्रतीक्षा राय पक्राउ परेकी छन्।
प्रहरीका अनुसार पक्राउ परेकाहरूविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान सुरु गरिएको छ।